कीवर्डहरू -

हुलाक कुरियर सेवाका लागि ‘एक्सप्रेस वे’ लागू, सार्वजनिक बिदामा पनि सेवा उपलब्ध हुने

हुलाक कुरियर सेवाका लागि ‘एक्सप्रेस वे’ लागू, सार्वजनिक बिदामा पनि सेवा उपलब्ध हुने

हुलाकमार्फत हुने कुरियर सेवाका लागि अब ‘एक्सप्रेस वे’ अर्थात् द्रुतमार्ग प्रयोग गरिने व्यवस्था लागू गरिएको छ। साथै, सार्वजनिक बिदाका दिनमा पनि हुलाकबाट कुरियर सेवा लिन सकिने भएको छ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाको निर्देशनपछि हुलाक सेवा विभागले विभिन्न निकायसँगको समन्वयमा आयात–निर्यातसम्बन्धी हुलाक सेवालाई थप सहज बनाएको हो।

यस व्यवस्थाबाट विदेश पठाइने तथा विदेशबाट आयात गरिएका मालवस्तुको जाँचपास छिटो, सुरक्षित र भरपर्दो हुने अपेक्षा गरिएको छ। हुलाक सेवा विभाग, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय र नागरिक उड्डयन प्राधिकरणको समन्वयमा यो प्रणाली लागू गरिएको हो।

विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीका अनुसार लामो प्रयासपछि मन्त्रालयको निर्देशनमा यो व्यवस्था कार्यान्वयनमा आएको हो। अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुलाक कुरियरका लागि छुट्टै डेडिकेटेड जाँचपास प्रणाली स्थापना गरिनेछ।

सार्वजनिक बिदाका दिन पनि हुलाक कार्यालयबाट विदेश पठाउने र विदेशबाट आएका सामान छुटाउने सेवा उपलब्ध हुने भएको छ। यसअघि गोश्वारा हुलाक कार्यालय डिल्लीबजार खुले पनि भन्सार र बैंक बन्द हुँदा सेवा प्रभावकारी हुन सकेको थिएन।

अन्तरनिकाय समन्वय अभावका कारण उठेका गुनासापछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चासो दिँदै सुधार प्रक्रिया अघि बढाएको हो।

गोश्वारा हुलाक कार्यालय डिल्लीबजारबाट गत फागुन महिनामा मात्र १९ हजार २ सयभन्दा बढी पुलिन्दा, पार्सल, साना प्याकेट, साधारण चिट्ठी, रजिस्ट्री चिट्ठी, बुक पोस्टलगायतका वस्तु विदेशबाट आएका थिए। त्यस्तै, निर्यात भएका यस्ता वस्तुको संख्या करिब ११ हजार ७ सय थियो।

पछिल्लो समय हुलाकमार्फत हुने कुरियर सेवाको माग बढ्दै गएको छ। द्रुतमार्ग र बिदाका दिनसमेत सेवा सञ्चालन भएपछि सेवा गुणस्तर, व्यवसाय विस्तार र राजस्व वृद्धिमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।