के तपाईंलाई याद छ त्यो समय, जब फेसबुकमा लगइन गरेपछि साथीहरूको फोटो, परिवारका अपडेटहरू र बर्थडे विशहरूले भरिएको हुन्थ्यो? त्यो समय अब बितिसकेको छ ।
अहिले फेसबुक स्क्रोल गर्दा पुराना साथीहरूका पोस्ट कम देखिन्छन्, र भाइरल भिडियो, मीम, विज्ञापन र राजनीति सम्बन्धी समाचारहरू बढी देखिन्छन् । र यो कुरा अब फेसबुकका संस्थापक मार्क जकरबर्गले स्वयं स्वीकार गरेका छन् ।
हालै एक संघीय अदालतमा चलिरहेको एन्टिट्रस्ट केस को दौरान जकरबर्गले स्वीकार गरे कि फेसबुक अब मानिसहरूलाई जोड्ने प्लेटफर्म होइन, बरु यो एक एंटरटेनमेन्ट हब (मनोरञ्जन केन्द्र) बनिसकेको छ । उनले स्पष्ट रूपमा भने कि अब फेसबुकको प्राथमिकता साथीभाइ होइनन्, बरु प्रयोगकर्तालाई कन्टेन्टमा अल्झाएर राख्नु र विज्ञापनबाट पैसा कमाउनु हो ।
किन भयो यस्तो परिवर्तन?
जकरबर्गका अनुसार मानिसहरूलाई एकआपसमा जोड्नु, अर्थात् साथीभाइ र परिवारसँगको सम्बन्ध कायम गर्नु पहिलेको फेसबुकको उद्देश्य थियो । तर अहिले यो प्लेटफर्मको मुख्य ध्यान एआईको सहायताले चयन गरिएको मनोरञ्जनात्मक सामग्री (जस्तैः भिडियो, रील्स र ब्रान्ड प्रमोशन) मा केन्द्रित भएको उनको भनाइ छ ।
प्रयोगकर्तालाई बढीभन्दा बढी विज्ञापन देखाउनका लागि लामो समयसम्म फेसबुकमै रोकिराख्न यस्तो गरेको उनी बताउँछन् ।
यो बयान त्यतिबेला आएको हो, जब मेटा (फेसबुकको मूल कम्पनी) विरुद्ध अमेरिकी संघीय व्यापार आयोग (एफटीसी) ले एन्टिट्रस्ट केस चलाइरहेको छ ।
एफटीसीको आरोप छ कि मेटाले आफ्ना सम्भावित प्रतिस्पर्धी कम्पनीहरू किनेर बजारमा एकाधिकार कायम गरेको छ । यद्यपि न्यायाधीशले भने एफटीसीको दाबी कति बलियो छ भन्नेमा केही शंका व्यक्त गरेका छन् ।
तर यस मुद्दाको सुनुवाइका क्रममा फेसबुक अब पहिले जस्तो सामाजिक प्लेटफर्म रहेन भनेर जुकरवर्गको स्वीकृति भने बाहिर आएको छ ।
के फेसबुक अब 'सोशल’ रहेन?
यदि तपाईंको मनमा पनि प्रश्न उठिरहेको छ— अब फेसबुकमा किन साथीहरूको पोस्ट देखिँदैन? भने उत्तर स्पष्ट छ । किनभने फेसबुक अब सामाजिक सञ्जाल नभएर एक कन्टेन्ट प्लेटफर्म बनिसकेको छ । यहाँ एआईले निर्धारण गर्छ कि तपाईंले के हेर्नुपर्छ, र त्यो कन्टेन्ट देखाइन्छ जसले बढी भ्यूज ल्याउँछ, तपाईंको साथीहरूको जीवन अपडेट होइन ।