कीवर्डहरू -

सेबोन र डब्लुआईआईटीद्वारा महिला दिवसको अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

सेबोन र डब्लुआईआईटीद्वारा महिला दिवसको अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

नेपाल धितोपत्र बोर्ड (सेबोन) र प्रविधिमा महिला (वुमेन इन इन्फर्मेशन टेक्नोलोजी/डब्लुआईआईटी) को संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय महिला दिवस २०२६ तथा ग्लोबल मनी विक २०२६ को अवसरमा राजधानीमा एक विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

"स्मार्ट मनी टक्स" (Smart Money Talks) विषयवस्तुमा केन्द्रित रहेर आयोजित यस कार्यक्रमको मुख्य उद्देश्य वित्तीय साक्षरता अभिवृद्धि, जिम्मेवार वित्तीय व्यवस्थापन, र महिला आर्थिक सशक्तिकरणलाई प्रवर्द्धन गर्नु रहेको थियो। चैत्र २ गते (मार्च १६, २०२६) सम्पन्न यस कार्यक्रममा विभिन्न क्याम्पसका विद्यार्थी, महिला पेशाकर्मी, सूचना प्रविधि क्षेत्रका विज्ञ तथा प्रतिष्ठित संघसंस्थाका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।

null

कार्यक्रममा प्रविधिमा महिला संस्थाकी निमित्त अध्यक्ष शिला कंसाकार कार्कीको सभापतित्व रहेको थियो भने बोर्डका नीति, अनुसन्धान तथा प्रशिक्षण विभागका विभागीय प्रमुख डा. नवराज अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो। यसैगरी, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (CDSC) की कार्यकारी प्रमुख प्रविण पन्दाकको विशेष आतिथ्यता रहेको थियो।

कार्यक्रमको सुरुवातमा बोर्डकी उपकार्यकारी निर्देशक दिपा दाहालले कार्यक्रमको पृष्ठभूमि र उद्देश्यबारे प्रकाश पारेकी थिइन्। विशेष अतिथि प्रविण पन्दाकले शुभकामना मन्तव्य व्यक्त गर्दै वित्तीय क्षेत्रमा महिलाको सहभागिता बढाउनुपर्नेमा जोड दिइन्। प्रमुख अतिथि डा. नवराज अधिकारीले ग्लोबल मनी विक २०२६ को पृष्ठभूमि र पुँजी बजार सचेतना कार्यक्रमको महत्वबारे आफ्नो धारणा राख्दै, आगामी दिनमा यस्ता कार्यक्रमले समावेशी आर्थिक वृद्धिमा मद्दत पुग्ने बताए।

कार्यक्रममा दुई महत्वपूर्ण प्रस्तुतिहरू राखिएका थिए। बोर्डका तर्फबाट निर्देशक सनु खड्काले "लगानी अवसर र पुँजी बजारका आधारभूत सिद्धान्त" विषयमा प्रस्तुति दिएका थिए। त्यस्तै, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (सीडीएससी) का तर्फबाट वरिष्ठ आइ.टि. अधिकृत रन्जु कुमारी सिंहले "धितोपत्रको क्लियरिङ्ग तथा फर्छ्यौट प्रक्रिया" विषयमा जानकारीमूलक प्रस्तुति राखेकी थिइन्। प्रस्तुतिपछि सहभागीहरूले राखेका जिज्ञासाहरू समाधान गरिएको थियो।

कार्यक्रममा ९३ जना भन्दा बढीको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले वित्तीय ज्ञान अभिवृद्धि, जिम्मेवार लगानी, र समावेशी आर्थिक वृद्धिलाई प्रवर्द्धन गर्ने विषयमा अर्थपूर्ण छलफल गरेका थिए।

कार्यक्रमको समापनमा सभापति शिला कंसाकार कार्कीले समापन मन्तव्य राख्दै कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिइन्। कार्यक्रमको संचालन बोर्डकी सहायक निर्देशक पुजा खनालले गरेकी थिइन्। यस कार्यक्रमले वित्तीय साक्षरता अभिवृद्धि गर्दै महिला सशक्तिकरणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।