कीवर्डहरू -

फ्ल्यागशिप फोन ओप्पो रेनो १५ फाइभजी नेपाली बजारमा सार्वजनिक

फ्ल्यागशिप फोन ओप्पो रेनो १५ फाइभजी नेपाली बजारमा सार्वजनिक

ओप्पो नेपालले आफ्नो रेनो सिरिजअन्तर्गतको नयाँ स्मार्टफोन रेनो १५ फाइभजी औपचारिक रूपमा सार्वजनिक गरेको छ। काठमाडौंमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको यस उपकरणमार्फत कम्पनीले नेपाली बजारको प्रिमियम स्मार्टफोन खण्डमा आफ्नो उपस्थिति थप सुदृढ बनाउने लक्ष्य राखेको जनाएको छ।

फ्ल्यागशिप स्तरको रूपमा प्रस्तुत गरिएको ओप्पो रेनो १५ फाइभजीमा ६.५९ इन्चको फुल एचडी प्लस एमोलेड डिस्प्ले १२० हर्ज रिफ्रेस रेटसहित उपलब्ध छ, जसले स्पष्ट, उज्यालो र स्मूथ दृश्य अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ। डिस्प्लेले १.०७ अर्ब रङ समर्थन गर्ने, १२०० निट्ससम्मको उच्च चमक दिने तथा गोरिल्ला ग्लास सेभेन आइ सुरक्षा सहित आउने भएकाले दृश्य स्पष्टता र मजबुती सुनिश्चित हुने बताइएको छ।

स्मार्टफोन क्वालकम स्न्यापड्रागन ७ जेन ४ मोबाइल प्लेटफर्मद्वारा सञ्चालित छ, जसले दैनिक प्रयोगदेखि बहुकार्यसम्पादनसम्म स्थिर र प्रभावकारी कार्यक्षमता दिने कम्पनीको भनाइ छ। ६५०० एमएएच क्षमताको ब्याट्री र ८० वाट सुपरभूक द्रुत चार्जिङ प्रविधिले लामो समयसम्म प्रयोग र छिटो चार्ज हुने सुविधा प्रदान गर्दछ।

फोटोग्राफी पक्षलाई विशेष प्राथमिकता दिँदै यसमा अप्टिकल इमेज स्टेबलाइजेसन (OIS) सहितको ५० मेगापिक्सेल मुख्य क्यामेरासहित ट्रिपल रियर क्यामेरा प्रणाली राखिएको छ। साथै ५० मेगापिक्सेल टेलिफोटो क्यामेरा र ८ मेगापिक्सेल अल्ट्रा–वाइड क्यामेरा समावेश छन्। अगाडीतर्फ ४के भिडियो रेकर्डिङ समर्थन गर्ने ५० मेगापिक्सेल अल्ट्रा–वाइड फ्रन्ट क्यामेराले सेल्फी तथा भिडियो सामग्री सिर्जनालाई थप प्रभावकारी बनाउने कम्पनीको दाबी छ।

कलरओएस १६ मा आधारित यस स्मार्टफोनमा इन–डिस्प्ले फिङ्गरप्रिन्ट र फेस अनलक सुविधा उपलब्ध छ। साथै ५जी नेटवर्क समर्थन, वाइफाइ सिक्स, ब्लुटुथ ५.४, इन्फ्रारेड रिमोट तथा डुअल नानो सिम जस्ता सुविधाले यसलाई भविष्य–तैयार उपकरणका रूपमा प्रस्तुत गरिएको छ।

सार्वजनिक कार्यक्रममा सञ्चारमाध्यम प्रतिनिधि, उद्योग साझेदार तथा प्रविधि क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो। सहभागीहरूले उपकरणको डिजाइन, निर्माण गुणस्तर र समग्र प्रयोग अनुभव प्रत्यक्ष अवलोकन गर्ने अवसर पाएका थिए।

ओप्पो रेनो १५ फाइभ जी नेपालभरका ओप्पोका अधिकृत स्टोर तथा साझेदार च्यानलमार्फत उपलब्ध हुने कम्पनीले जनाएको छ।