सरकारले नेपाल आउने विदेशी नागरिकहरुको अभिलेख राख्ने भएको छ । असोज १ गतेदेखि अध्यागमन विभागले विदेशी नागरिकहरूको अभिलेख राख्ने भएको हो ।
यसका लागि अध्यागमन विभागले विदेशी नागरिक दर्ता तथा अनुगमन प्रणाली विकास गरेको छ । पहिलो चरणमा यो प्रणाली असोज १ गतेदेखि उपत्यकाका तारे होटलहरुमा लागु हुनेछ ।
दोस्रो चरणमा मंसिर १ गतेदेखि सबै तारे होटल, विमान कम्पनी, ट्राभल कम्पनी, मनी एक्सचेञ्जरमा लागू हुनेछ । क्रमशः सबै होटल, गेष्ट हाउस र सार्वजनिक तथा निजी संस्थाबाट प्रभाव हुने सेवामा समेत यो लागू हुने विभागले जनाएको छ ।
विभागका अनुसार, विदेशी नागरिकहरूको प्रवेश, बसाइ र गन्तव्यबारे यथार्थ सूचना व्यवस्थापन गर्नुपर्ने अन्तर्राष्ट्रिय मापदण्डअनुसार नेपालले पनि यो प्रणाली लागू गर्न लागेको हो। यसले राष्ट्रिय सुरक्षा मजबुत गर्ने, पर्यटक व्यवस्थापन सुधार्ने र आपतकालीन अवस्थामापनि चाँडो प्रतिक्रिया दिन सजिलो हुने विभागको दाबी छ ।