एआई कम्पनी फ्युजमसिन्स इंकले नेपालका लागि एआई फेलोशिप २०२६ को आवेदन खुला गरेको छ । ६ महिनासम्म सञ्चालन हुने यो व्यापक कार्यक्रमले सहभागीलाई रोजगारयोग्य (Job-Ready) एआई सीप विकास गर्ने लक्ष्य राखेको छ।
अमेरिकाका अग्रणी विश्वविद्यालयका प्राध्यापक र एआई उद्योगका विज्ञहरूद्वारा डिजाइन गरिएको कार्यक्रमअन्तर्गत फ्युजमसिन्सको स्वामित्वमा रहेको Microdegree™ पाठ्यक्रम पनि समावेश गरिएको छ।
नवौं संस्करण, पूर्ण छात्रवृत्ति अवसर
सन् २०१७ मा सुरु भएको यो फेलोशिप कार्यक्रम अहिले नवौं वर्षमा प्रवेश गरेको छ। हालसम्म १२ देशका १२०० भन्दा बढी सहभागी (फेलो) लाई तालिम प्रदान गरिसकेको कम्पनीले जनाएको छ।
कार्यक्रम आईटी विद्यार्थी, पेशाकर्मी तथा प्रोग्रामिङ, गणित, कम्प्युटर विज्ञान र सफ्टवेयर विकासमा पृष्ठभूमि भएका उत्साहीहरूका लागि लक्षित गरिएको छ। बहु–चरणीय छनोट प्रक्रियामार्फत योग्य ठहरिएका आवेदकलाई पूर्ण छात्रवृत्ति प्रदान गरिनेछ।
कम्पनीका संस्थापक तथा सीईओ समीर मास्केले भौगोलिक सीमाभन्दा पर गएर उत्कृष्ट एआई शिक्षा उपलब्ध गराउने प्रतिबद्धताको निरन्तरता नै यो नवौं संस्करण भएको बताए ।
नेपालबाट विश्वस्तरका एआई समस्या समाधानकर्ता र नेतृत्वकर्ता उत्पादन गर्ने फेलोशिपको लक्ष्य रहेको उनको भनाइ छ ।
त्यस्तै, दक्षिण एसिया प्रमुख तथा रणनीति विभागका प्रमुख पराग श्रेष्ठले मानव पुँजीमा लगानी नै दीर्घकालीन सफलताको आधार भएको उल्लेख गर्दै नेपालमा बलियो एआई इकोसिस्टम निर्माण गर्ने उद्देश्य बताए ।
हाइब्रिड सिकाइ र व्यावहारिक अभ्यास
एआई फेलोशिप २०२६ अन्तर्गत सहभागीहरूले अनलाइन तथा प्रत्यक्ष अभ्यास समेटिएको हाइब्रिड मोडेलमार्फत अध्ययन गर्नेछन्। फ्युजमसिन्स अनलाइन प्लेटफर्ममार्फत साप्ताहिक लाइभ लेक्चर र स्व–गति (self-paced) सिकाइ उपलब्ध हुनेछ।
कार्यक्रम पूरा गरेपछि सहभागीहरूले जेनेरेटिभ एआई, मसिन लर्निङ, डिप लर्निङ, न्याचुरल लर्निङ प्रोसेसिङ, कम्प्युटर भिजन, प्रम्प्ट इन्जिनियरिङ जस्ता विषयमा गहिरो ज्ञान हासिल गर्नेछन्। साथै, गणित र प्रोग्रामिङको बलियो आधारसमेत विकास गरिनेछ।
पाठ्यक्रम सिद्धान्तमा मात्र सीमित नरही जटिल समस्या समाधानका लागि उपयुक्त एल्गोरिदम, फ्रेमवर्क र प्रविधि छनोट तथा कार्यान्वयन गर्न सक्षम बनाउने किसिमले तयार गरिएको छ।
सहभागीहरूले मोडेलको कार्यसम्पादन मूल्यांकन, आर्किटेक्चर तुलना तथा end-to-end पाइपलाइन निर्माण जस्ता व्यावहारिक अभ्यास गर्नेछन्।
फ्युजमसिन्सका अनुसार, यस कार्यक्रमले नेपालका प्रतिभालाई अन्तर्राष्ट्रिय अवसरसँग जोड्दै विश्व एआई परिदृश्यमा प्रभाव पार्ने दक्ष जनशक्ति तयार पार्ने लक्ष्य लिएको छ।
यदि तपाई पनि एआई फेलोशिपमा आवेदन दिन र थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् । आवेदन आगामी मार्च ३० सम्म दिन सकिने छ ।
आईसीटी समाचार