अब गूगल क्रोम ब्राउजरमै जेमिनाई प्रयोग गर्न सकिने भएको छ । एआई प्रो र अल्ट्रा सब्सक्रिप्सन लिएका विन्डोज र म्याक प्रयोगकर्ताहरूले अहिलेलाई ब्राउजरमा जेमिनाइ प्रयोग गर्न सक्ने छन् ।
हाल यो सुविधा अमेरिकामा अंग्रेजी भाषा सेटिङ सक्रिय गरेका प्रयोगकर्तालाई मात्र उपलब्ध हुने छ । प्रयोगकर्ताले क्रोम इन्टरफेसको माथिल्लो भागमा देखिने नयाँ ‘स्पार्कल’ आइकन क्लिक गरेर जेमिनी सक्रिय गर्न सक्नेछन् ।
मोबाइल प्रयोगकर्ताका लागि पनि यो सुविधा विस्तार हुँदैछ । एन्ड्रोइडमा पावर बटन थिचेर जेमिनी सक्रिय गर्न सकिन्छ भने, आइओएसका लागि क्रोम एपमार्फत सुविधा उपलब्ध गराउने तयारी भइरहेको गुगलले जनाएको छ ।
गुगलले जेमिनीमा पछिल्लो समय थुप्रै सुधार गरेको छ । अब यो उपकरणले विभिन्न ट्याबमा रहेको सामग्रीलाई तुलना र सारांश गर्न सक्छ । साथै, नयाँ ‘रिकल’ फिचरमार्फत प्रयोगकर्ताको ब्राउजिङ इतिहासमा पहुँच पाउनेछ, जसले अघिल्लो कुनै ब्लग वा वेबसाइट खोज्न सजिलो बनाउनेछ ।
यस संस्करणमा जेमिनीले क्यालेन्डर, युट्युब र म्याप्स जस्ता अन्य गुगल सेवासँग पनि गहिरो एकीकरण पाएको छ । उदाहरणका लागि, प्रयोगकर्ताले जेमिनीमार्फत बैठक शेड्युल गर्न, लामो युट्युब भिडियोमा टाइमस्ट्याम्प बनाउन वा म्याप्समार्फत स्थान सम्बन्धी जानकारी प्राप्त गर्न सक्नेछन् ।
गुगलले मे महिनादेखि क्रोमको Enhanced Protection लाई जेमिनी नानोमार्फत सुदृढ गरेको थियो । कम्पनीले अब यो सुविधा नक्कली भाइरस वा उपहारका नाममा प्रयोगकर्तालाई झुक्याउने वेबसाइटविरुद्ध पनि प्रयोग हुने जनाएको छ ।
साथै, क्यामेरा वा लोकेसन जस्ता परमीशन अनुरोधहरूमा प्रयोगकर्ताको बानीअनुसार कम अवरोधक नोटिफिकेशन दिने प्रणाली थपिएको छ । क्रोमको पासवर्ड म्यानेजरमार्फत प्रयोगकर्ताले कोर्सेरा, डुओलिङ्गो र स्पोटिफाईजस्ता साइटमा पासवर्ड एक क्लिकमै बदल्न सक्नेछन् ।
गुगलले आगामी महिनामा जेमिनीलाई अझ ‘एजेन्टिक’ बनाउँदै प्रयोगकर्ताका लागि विभिन्न काम आफैं सम्पन्न गर्ने क्षमतासहित ल्याउने योजना बनाएको छ ।
यसका अतिरिक्त, गुगलले क्रोमको एड्रेस बारमै एआई मोडको सर्टकट थपेको छ । यसमार्फत प्रयोगकर्ताले सिधै एआई च्याटबोट प्रयोग गर्न सक्नेछन् ।
गुगलका अनुसार यी सबै नयाँ फिचरहरू क्रमशः प्रयोगकर्ताका क्रोम ब्राउजरमा केही दिनभित्र रोलआउट हुनेछन् ।