गुगलले सोमबार ‘एन्ड्रोइड अपडेट्स’का लागि एउटा नयाँ र समर्पित कार्यक्रमको घोषणा गरेको छ, जुन वार्षिक डेभलपर सम्मेलन आई/ओ २०२५ सुरु हुनुभन्दा एक हप्ता अघि प्रसारण हुनेछ ।
दि एन्ड्रोइड शोः आई/ओ एडिशन नाम दिइएको यो नयाँ सिरिजमा एन्ड्रोइड १६ अपरेटिङ सिस्टमसँग सम्बन्धित थुप्रै घोषणा गरिनेछ । यो शो १३ मे मा हुने पक्का भएको छ, जुन आई/ओ २०२५ सुरु हुने मिति २० मे को ठीक एक हप्ता अगाडि पर्छ ।
गुगल वर्षभरिमा साना–साना अपडेटहरूको घोषणा त गरिरहन्छ, तर ठूला (टेन्टपोल) फिचरहरू सामान्यतः गुगल आई÷ओ मा मात्र प्रस्तुत गरिन्छन् । यस्तोमा, ‘दि एन्ड्रोइड शो’ माउन्टेन भ्यूमा आधारित टेक कम्पनी गुगलका लागि यस्तो किसिमको पहिलो प्रयास हुनेछ ।
गुगलका अनुसार, दि एन्ड्रोइड शोः आई/ओ एडिशन मंगलवार, १३ मे को बिहान १०ः०० बजे पीटी (राति १०ः१५ बजे नेपाली समय) मा हुनेछ ।
एन्ड्रोइड ईकोसिस्टमका प्रेसिडेन्ट समीर समत र एन्ड्रोइड टिमले यो शो युट्युबमा प्रत्यक्ष प्रसारण गर्नेछन्, जहाँ एन्ड्रोइडसँग सम्बन्धित धेरै नयाँ अनुभव र घोषणा हुने अपेक्षा गरिएको छ ।
हालका लागि के–के घोषणा हुनेछन् भन्ने स्पष्ट गरिएको छैन् । तर, माउन्टेन भ्यूमा आधारित टेक जाइण्ट अनुसार, यस शोमार्फत लेटेस्ट इनोभेसन्स र एन्ड्रोइडका नयाँ एक्सपेरिएन्सबारे जानकारी दिइनेछ ।
गुगल आई/ओ २०२५ दुई दिनसम्म चल्ने कार्यक्रम हुनेछ — मंगलवार २० मे र बुधवार २१ मे मा कार्यक्रम हुनेछ । अघिल्ला वर्षका ट्रेन्डअनुसार, कार्यक्रम अल्फाबेटका सीईओ सुन्दर पिचाईको की–नोटबाट सुरु हुने सम्भावना छ ।
यसमा एन्ड्रोइड १६ र जेमिनी अपडेट्सजस्ता प्रमुख प्रोडक्ट तथा सफ्टवेयरहरू प्रस्तुत गरिने अपेक्षा गरिएको छ ।