गुगल म्याप्सले ती व्यवसायहरूविरुद्ध कडा कारबाही सुरू गरेको छ, जसले नक्कली रिभ्यूहरू लेखाउने काम गरिरहेका थिए ।
गुगलले स्पष्ट रूपमा भनेको छ कि अब फर्जी व्यवसाय लिस्टिङ र झूट्टा रिभ्यूहरूको समस्या सह्य हुने छैन् । हालै गुगलले आफ्नो ब्लग पोस्टमार्फत खुलासा गरेको छ कि उसले अब एआई र विशेष तालिम प्राप्त विश्लेषकहरूको सहायताबाट गुगल म्याप्समा व्यवसाय प्रोफाइलहरूको प्रमाणिकता कडाइका साथ अनुगमन गर्न थालेको छ ।
अहिलेसम्म, गुगलले १०,००० भन्दा बढी नक्कली लिस्टिङहरू हटाइसकेको छ र धेरै केसहरूमा कानुनी कारबाहीसमेत सुरु गरिसकेको छ ।
गुगलले जानकारी दिएको छ कि उसले जेमिनाई एआई मोडेलको सहायताबाट नयाँ प्रणाली विकास गरेको छ, जसले शंकास्पद प्रोफाइल सम्पादनहरू पत्ता लगाउँछ ।
उदाहरणका लागि, यदि कुनै व्यवसायले आफ्नो नाम “जोज कफि हाउस” बाट “जोज क्याफे” मा परिवर्तन गर्छ भने, त्यो सामान्य मानिन्छ । तर यदि उही व्यवसायले अचानक “क्याफे” बाट “प्लम्बर” मा परिवर्तन गर्छ भने, त्यो शंकास्पद ठहरिन्छ र गुगलले त्यसको जाँच गर्छ । यस वर्ष अहिलेसम्म हजारौं यस्ता शंकास्पद प्रोफाइल सम्पादनहरू रोकिएका छन् ।
गुगलले अब फेक ५–स्टार रिभ्यूहरू माथि पनि कडा निगरानी राख्न थालेको छ, जुन ग्राहकलाई धोका दिने उद्देश्यले किनिएका हुन्छन् । धेरै व्यवसायहरूले यस्ता मानिसहरूबाट रिभ्यू किन्ने गर्छन्, जसले त्यो प्रतिष्ठान कहिल्यै प्रयोग गरेका नै हुँदैनन् । गुगलको नीति यस्ता गतिविधिहरूमाथि पूर्ण प्रतिबन्ध लगाउँछ ।
अब एआईको सहायताबाट यस्ता नक्कली रिभ्यूको ढाँचा चिनिनेछ र यदि महिनौंपछि पनि कुनै गडबडी भेटिएमा, त्यसमा कारबाही हुनेछ ।
गुगलले गत वर्ष २४ करोडभन्दा बढी रिभ्यूहरू ब्लक वा हटाएको थियो, जुन कम्पनीको नीति उल्लङ्घन गर्दै थिए ।
यीमध्ये अधिकांश रिभ्यूहरू पोस्ट भएपछि तुरुन्तै प्रणालीले समातेको थियो र प्रयोगकर्ताले हेर्न नपाउँदै हटाइएको थियो । साथै, १ करोड २० लाखभन्दा बढी नक्कली व्यवसाय प्रोफाइलहरू पनि हटाइएको थियो ।
यस सम्पूर्ण प्रयासको उद्देश्य हो — गुगल म्याप्समा देखिने सबै व्यवसाय प्रोफाइलहरू वास्तविक होऊन् र प्रयोगकर्ताले झूटो जानकारी वा ठगीबाट बच्न सकून् । अब एआई र मेशिन लर्निङको सहायताबाट कुनै ढिलाइ नगरी तुरुन्तै कारबाही सम्भव हुने भएकोले, गुगल म्याप्स थप विश्वसनीय र पारदर्शी बन्दै गएको छ ।