गुगलले आफ्नो गुगल प्ले स्टोर मा नयाँ अपडेट ल्याएको छ, जसले प्रयोगकर्तालाई सही एप फेला पार्न अझ सहज बनाउनेछ। यो सुविधा पहिलो पटक एन्ड्रोइड अथोरिटी ले देखाएको हो।
नयाँ सुविधाअनुसार, प्रयोगकर्ताले अब एपका रिभिउभित्रै शब्दहरू खोज्न सक्नेछन्। हालका लागि यो सुविधा कम्तीमा दुई शब्दको ठ्याक्कै मिल्ने खोजमा मात्र काम गर्छ। यद्यपि, यसले प्रयोगकर्तालाई कुनै एप वा गेममा विशेष सुविधा वा गेमप्ले तत्त्व छन् कि छैनन् भन्ने कुरा छिटो पहिचान गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ।
गुगल प्ले स्टोरमा “See all reviews” बटन थिचेपछि यो खोज सुविधा प्रयोग गर्न सकिन्छ, जहाँ केही लोकप्रिय खोज शब्दहरू सुझावका रूपमा पनि देखाइनेछन्। यो सुविधा अमेजनको “Search Customer Reviews” जस्तै छ, र खोजिएको शब्द वा वाक्यांशलाई समीक्षाभित्र बोल्ड गरेर देखाउनेछ।
रिभिउभित्र खोज गर्ने सुविधा थपिनु राम्रो कदम मानिएको छ, विशेषगरी एप्पल एप स्टोरसँग तुलना गर्दा, जहाँ एपका समीक्षा केवल क्रमबद्ध गर्न सकिन्छ।
गत केही वर्षदेखि गुगलले आफ्ना नीतिहरू उल्लङ्घन गर्ने खराब एपहरूलाई नियन्त्रण गर्ने प्रयास गर्दै आएको छ। प्रयोगकर्तालाई समीक्षा भित्र खोज्ने क्षमता दिनुले नियमबाट जोगिएका एपहरूबारे थप निगरानी गर्न पनि मद्दत गर्नेछ।
आईसीटी समाचार