सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचना प्रविधि प्रणालीको विकास तथा परामर्श सेवाको लागत अनुमान सम्बन्धी नर्म्स, २०८२ तयार पारेको छ ।
सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १२ ले दिएको अधिकार प्रयोग गरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रालय र मन्त्रालय सम्बद्ध निकायहरुको लागि सफ्टवेयर प्रणाली विकासको लागत अनुमान सम्बन्धी नर्म्स (Norms) बनाएको हो ।
नर्म्समा मन्त्रालय र मन्त्रालय ससम्बद्ध निकायहरुको लागि सफ्टवेयर प्रणाली विकास तथा परामर्श सेवा लिने क्रममा प्रयोग हुने सम्भावित जनशक्तिको शैक्षिक योग्यता, अनुभव र पारिश्रमिकको निर्धारण गरिएको छ ।
आर्थिक वर्ष २०८२/८३ मा सफ्टवेयर विकास गर्दा वा परार्मश सेवा लिँदा प्रोजेक्ट म्यानेजर वा टिम लिडरलाई मासिक २ लाख रूपैयाँ पारिश्रमिक तोकिएको छ । आईटीमा मास्टर्स र ५ वर्षको अनुभव आवश्यक पर्नेछ ।
यस्तै एसओसी एनालिस्ट (एल ३), डिजिटल फरेन्सिक्स एनालिस्ट र थ्रेट इन्टेलिजेन्स विशेषज्ञको मासिक तलब १ लाख ७२ हजार तोकिएको छ । यी पदमा स्नातक तह, ५ वर्षको अनुभव र सम्बन्धित विषयमा सर्टिफिकेसन आवश्यक पर्नेछ ।
त्यसैगरी सिस्टम आर्किटेक्ट/एनालिस्टको तलब १ लाख ६० हजार रूपैयाँ तोकिएको छ भने सर्टिफिकेसनसहित स्नातक तह र पाँच वर्ष अनुभव चाहिने छ ।
सिनियर डेटा बेस डिजाइनर र सफ्टवेयर/वेब/आईओएस/एन्ड्रोइड डेभलपरको एक लाख ४० हजार, क्लाउड र पूर्वाधार विज्ञ तथा एपीआई डेभलपरको १ लाख २५ हजार रूपैयाँ मासिक पारिश्रमिक तोकिएको छ ।
भल्नेरेबिलिटी एसेसर, इथिकल ह्याकर एप्लिकेसन सेक्युरिटी इन्जिनियर र थ्रेट एनालिष्टको एक लाख १० हजार तथा इन्फर्मेसन सेक्युरिटी अफिसर, एसओसी एनालिष्ट (एल २) र इन्सिडेन्ट रेस्पोन्स एनालिष्टका लागि १ लाख ५ हजार रूपैयाँ निर्धारण गरिएको छ ।
डेटाबेस एड्मिनिस्ट्रेटर, क्वालिटी एसुरेन्स एनालिट सफ्टवेयर टेस्टर, आईटी अडिटर, सिस्टम एण्ड नेटवर्क एडमिनिष्ट्रेटरको मासिक तलब ९० हजार रूपैयाँ छ ।
सफ्टवेयर/वेब, एन्ड्रोइड, आईओएस डेभलपर/डिजाइनर ट्रेनिङ स्पेशलिष्टको मासिक ८० हजार, एसओसी एनालिस्ट (एल १) को ६५ हजार र जुनियर डेभलपरको ४० हजार रूपैयाँ पारिश्रमिक तोकिएको छ ।
जुनियर डेभलपरको कुनै अनुभव चाहिने छैन् । कक्षा १२ पास गरेको वा आईटी मेजर लिएर सो सरहको पढाइ गरेको भए पुग्ने छ ।
तर अन्य पदमा १ वर्षदेखि पाँच वर्षको अनुभव आवश्यक पर्नेछ भने आईटीमा ब्याचलर र सर्टिफिकेसन आवश्यक पर्नेछ ।
सार्वजनिक निकायले विकास गर्न लागेको सफ्टवेयर प्रणालीको प्रकृति अनुसार यी तोकिएका विभिन्न जनशक्तिहरु मध्येबाट आवश्यकतानुसार उपयुक्त जनशक्तिको छनौट गर्नुपर्नेछ ।
सो बाहेकको कुनै जनशक्ति आवश्यक पर्ने भएमा उल्लेख भएका विभिन्न जनशक्तिहरुसँग मिल्दोजुल्दो जनशक्तिको पारिश्रमिक छनौट गरी लागत अनुमान तयार गर्न सकिनेछ ।
सफ्टवेयर प्रणालीको वार्षिक मर्मतसम्भारको लागि आवश्यक जनशक्तिको लागत निर्धारण गर्दा सफ्टवेयर प्रणाली विकास गर्दा लागेको खुद लागतको २० प्रतिशतले हुन आउने रकममा नबढ्ने गरी लागत अनुमान गर्नुपर्नेछ ।
सरकारी तथा सार्वजनिक निकायले सफ्टवयर निर्माण गर्दा/परामर्श सेवा लिंदा यो नर्सको प्रयोग गर्न सक्नेछन्। यो नर्सको आधार मानी कुनै सार्वजनिक निकायले विकास गरेको सफ्टवेयर प्रणालीको विवरण सूचना प्रविधि विभागले विकास गरेको विद्युतीय प्रणालीमा अध्यावधिक गर्नुपर्नेछ ।