कीवर्डहरू -

सिंहदरबार क्षेत्रमा इन्टरनेट सेवा सुधार गर्न सरकारको पहल, अवरोधरहित पहुँचमा जोड

सिंहदरबार क्षेत्रमा इन्टरनेट सेवा सुधार गर्न सरकारको पहल, अवरोधरहित पहुँचमा जोड

सिंहदरबारभित्र तथा आसपासका सरकारी निकायमा इन्टरनेट सेवाको गुणस्तर सुधार गर्न सरकार अहिले सक्रिय बनेको छ। प्रशासनिक केन्द्रका रूपमा रहेको यस क्षेत्रमा प्रविधि पूर्वाधार कमजोर नहोस् भनेर सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सम्बन्धित निकायलाई सेवा थप भरपर्दो, छरितो र अवरोधरहित बनाउन निर्देशन दिएका छन्।

एकीकृत डाटा व्यवस्थापन केन्द्रका प्रमुखसँग भएको छलफलमा मन्त्री तिमिल्सिनाले सबै सरकारी कार्यालयमा उच्चस्तरीय इन्टरनेट पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्। उनले सेवा अवरुद्ध हुन नदिन पूर्वतयारी, निरन्तर निगरानी र जोखिम व्यवस्थापनलाई मजबुत बनाउन आवश्यक रहेको बताएका छन्।

मन्त्री तिमिल्सिनाले सम्भावित समस्या पहिचान गरेर तुरुन्त समाधान गर्न, सेवा प्रदायक र सम्बन्धित निकायबीच जिम्मेवारी तथा जवाफदेहिता बढाउन पनि निर्देशन दिएका छन्। प्राविधिक वा मानवीय कमजोरीका कारण सेवा अवरुद्ध हुने अवस्था अन्त्य गर्न दक्ष जनशक्ति परिचालन गर्नुपर्ने उनको भनाइ छ।

छलफलका क्रममा नेपाल टेलिकममार्फत दक्ष प्राविधिक टोली खटाई समस्या आएमा तुरुन्त समाधान गर्ने व्यवस्था मिलाउन पनि उनले निर्देशन दिएका छन्।

त्यस अवसरमा एकीकृत डाटा व्यवस्थापन केन्द्रका प्रमुख मनिष भट्टराईले केही कार्यालयमा इन्टरनेट सुस्त हुने र कहिलेकाहीँ सेवा विच्छेद हुने समस्या देखिएको स्वीकार गरेका छन्। उनले ती समस्या समाधानका लागि प्राविधिक सुधार र व्यवस्थापनका उपाय अघि बढाइएको जानकारी दिएका छन्।

भट्टराईका अनुसार सिंहदरबारभित्र हाल नेपाल टेलिकममार्फत १ जिबिपिएस क्षमताको ब्रोडब्यान्ड सेवा सञ्चालनमा छ भने जी–क्लाउडका लागि थप २५० एमबिपिएस क्षमताको इन्टरनेट प्रयोग भइरहेको छ। तर, अप्टिकल फाइबरमा सडक तथा भौतिक पूर्वाधार निर्माणका क्रममा हुने क्षतिले सेवा प्रभावित हुने गरेको उनले बताएका छन्।

दीर्घकालीन समाधानका लागि फाइबरलाई सुरक्षित रूपमा भूमिगत गर्नुपर्ने आवश्यकता पनि उनले औंल्याएका छन्। साथै, पहिले वैकल्पिक प्रणालीमार्फत सेवा निरन्तरता कायम राख्ने ‘इन्टरनेट रिङ’ को व्यवस्था रहे पनि अहिले त्यो कमजोर बन्दै गएको भन्दै त्यसलाई पुनः सुदृढ बनाउनुपर्ने उनको भनाइ छ।

भट्टराईले बाह्य इन्टरनेट व्यवस्थापन केन्द्रको जिम्मामा रहे पनि प्रत्येक कार्यालयभित्रको नेटवर्क र सर्भर व्यवस्थापन सम्बन्धित निकायकै जिम्मा हुने भएकाले मन्त्रालय तथा कार्यालयहरूमा दक्ष सूचना प्रविधि जनशक्ति आवश्यक रहेको स्पष्ट पारेका छन्।

डिजिटल पूर्वाधार सुदृढ गर्दै सेवा प्रवाहलाई छिटो, पारदर्शी र प्रभावकारी बनाउने सरकारको लक्ष्यअनुसार सिंहदरबार क्षेत्रको इन्टरनेट सेवा सुधारलाई महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।