नेपालमा सूचीकरण नहुने सामाजिक सञ्जाल बन्द हुने भएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा सूचीकरणको प्रक्रियामा नआएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको हो ।
यससँगै अब फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, लिङ्क्डइन, युट्युब लगायतका सामाजिक सञ्जाल नेपालमा चल्ने छैनन् ।
गत भदौ ९ गते बसेको मन्त्रिपरिषद्को बैठकले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० तथा सर्वोच्च अदालतको आदेशबमोजिम सामाजिक सञ्जाल सञ्चालकलाई जिम्मेवार तथा जवाफदेही बनाउन सात दिनको म्याद दिई सूचीकरणको लागि सार्वजनिक रूपमा आह्वान गर्ने निर्णय गरेको थियो ।
यदी तोकिएको अवधिमा सूचीकरण हुन नआउने वा सूचीकरणको लागि सम्पर्कमासमेत नआउने सामाजिक सञ्जाललाई क्रमशः नेपाल भित्र निष्क्रिय गराउन र सूचीकरण गरेमा सोही क्षणबाट ती सामाजिक सञ्जाललाई पुनः सक्रिय गराउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिने पनि निर्णय पनि सो बैठकले थियो ।
सरकारले दिएको समयमा पनि सामाजिक सञ्जाल सूचीकरणका लागि नआएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्बी सुब्बा गुरूङको नेतृत्व बसेको मन्त्रालयको बैठकले सूचीकरणको प्रक्रियामा नआएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको हो ।दर्ता नभएका सामाजिक सञ्जाललाई क्रमशः निष्क्रिय गराइने र प्रक्रियामा आएपछि त्यतिबेलाबाटै पुनः सक्रिय गर्ने सरकारको तयारी छ ।
सञ्चार मन्त्रालयका अनुसार अहिलेसम्म टिकटक, भाइबर, निम्बज, विटक र पोपो लाइभ मात्रै सूचीकृत भएका छन् । प्रतिबन्ध लगाएपछि टेलिग्रामले सूचीकरणका लागि सञ्चार मन्त्रालयमा निवेदन दर्ता गरेको छ । त्यस विषयमा मन्त्रालयले अध्ययन गरिरहेको छ ।