कीवर्डहरू -

इन्ड्राइभ आइसिटी अवार्ड २०२५ को ग्राण्ड फिनाले सुरू, १७ विधामा अवार्ड वितरण हुँदै

इन्ड्राइभ आइसिटी अवार्ड २०२५ को ग्राण्ड फिनाले सुरू, १७ विधामा अवार्ड वितरण हुँदै

लिभिङ विथ आइसिटी र आइसिटी फाउन्डेसनले आयोजना गरेको सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्ड २०२५ को ग्राण्ड फिनाले सुरू भएको छ ।

ललिरपुरको पुलचोकस्थित द प्लाजामा सुरू भएको ‘इन्ड्राइभ आइसिटी अवार्ड २०२५ इन एशोशिएसन विथ नेपालपे क्युआर, टिङटङ पावर्ड बाई सस्तो टिकेट्स, एमआईटी, केमसी’मा विभिन्न १७ विधामा अवार्ड प्रदान गरिँदै छ ।

कार्यक्रमका प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले प्रविधिको प्रयोगमार्फत पानसमा बत्ति बाल्दै कार्यक्रमको शुभारम्भ गरेका छन् । प्रविधि क्षेत्रको विशेष उत्सवको रूपमा आयोजना हुने आइसिटी अवार्डको ग्राण्ड फिनालेमा सञ्चारमन्त्री खरेलसँगै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष टोप बहादुर मगर, लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाश कुमार श्रेष्ठसहित विभिन्न मन्त्रालयका सचिव, सहसचिव, विभिन्न कम्पनीका सीईओ, आईटी विज्ञ, नीति निर्माता लगायतहरूको उपस्थिति रहेको छ । सन् २०१६ देखि लिभिङ विथ आइसिटीले आयोजना गर्दै आइरहेको आइसिटी अवार्ड कार्यक्रम, विगत ६ महिनादेखि छनौट प्रक्रिया र प्रिइभेन्टहरु सम्पन्न गर्दै ग्राण्ड फिनालेसम्म आइपुगेको छ ।

फिनालेमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रसँग सम्बन्धित स्टार्टअप, प्रडक्ट, इन्नोभेसन, उद्यमी, प्रोफेसनल, संघ संस्था गरी विभिन्न १७ विधाहरूमा विजेताको घोषणासँगै अवार्ड वितरण हुनेछ । यसैगरी सातै प्रदेशका उत्कृष्ट स्टार्टअपहरुलाई प्रोभिन्सियल स्टार्टअप आइसिटी रिकग्निसन २०२५ बाट समेत सम्मान गरिनेछ । अवार्डमा दक्षिण एसियाली देशहरुलाई लक्षित गरिएको साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड सार्क राष्ट्रको सर्वोत्कृष्ट स्टार्टअपलाई प्रदान गरिने छ ।

null

दशौं संस्करणको आइसिटी अवार्डको छनौटको लागि १४ जना स्वदेशी र ४ जना विदेशी विज्ञ जुरी समिती र १५ जनाको सल्लाहकार समिति गठन गरिएको थियो । यस वर्ष विभिन्न १५ विधा र रिकग्निसनमा खुल्ला गरिएको अनलाइन नोमिनेसनमा ७५० बढीको आवेदन प्राप्त भएको आयोजक समितिले जानकारी दिएको छ ।

अवार्ड वितरण हुने विधाहरुमा क्याटोगोरी ए अन्तर्गत स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इन्नोभेसन र सोसल इन्नोभेसन रहेका छन् । व्यक्तिगत अवार्ड विधाहरुमा प्रोफेसनल एक्सिलेन्स, आन्टरप्रेनर, नेपाली डायस्पोरा, पायोनियर र एनसेल वुमन आईकन आइसिटी अवार्ड रहेका छन । संस्थागत र कर्पोरेट अवार्ड विधाहरुमा डिजिटल एजुकेसन (पब्लिक सेक्टर), डिजिटल एजुकेसन (प्राइभेट सेक्टर), डिजिटल गभर्नेन्स, डिजिटल सर्भिसेस आइसिटी अवार्ड (नियो सेक्टर) र डिजिटल सर्भिसेस आइसिटी अवार्ड (पब्लिक सेक्टर) रहेका छन । क्याटोगोरी डी अन्तर्गत साउथ एशिया स्टार्टअप आइसिटी अवार्ड रहेको छ ।

यस बाहेक क्याटोगोरी ए अन्तर्गत विधाका सेमिफाइनलिष्टहरू मध्येबाट सबैभन्दा बढी पब्लिक भोट ल्याउने स्टार्टअप, इन्नोभेसन वा प्रडक्टलाई पब्लिक च्वाइस आइसिटी अवार्ड प्रदान गरिने छ । ग्राण्ड फिनाले अघि ट्रेनिङ, मेन्टरिङ सेसन, काठमाडौंमा २ दिने स्टार्टअप एण्ड आइडिया फेस्ट, ग्राण्ड जुरी सेसन, स्पीड डेटिङ, टेलिभिजन कार्यक्रम, पब्लिक भोटिङ र फिल्ड भिजिटजस्ता प्रकृयाहरु सञ्चालन गरिएको थियो ।

हरेक वर्ष आयोजना हुने अवार्ड कार्यक्रमले सूचना प्रविधिको क्षेत्रमा काम गर्न चाहने र गरिरहेकाहरूलाई प्रोत्साहन तथा प्रवर्द्धन गर्दै आएको छ । साथै अवार्डमा प्रतिस्पर्धामा आएका स्टार्टअप, प्रडक्ट र इन्नोभेसनहरूले थप लगानी र बजार विस्तारको लागि अवसर समेत प्रदान गरिरहेको छ । अवार्ड विजेताले विभिन्न कम्पनीका उपहारसँगै ट्रफी र सम्मान प्राप्त गर्नेछन् । साथै कार्यक्रममा कलाकर प्रभात लामाको हाँस्यव्यंग्य प्रस्तुती तथा गायक हेमन्त शर्मा र गायिका रचना रिमालको सांगीतिक प्रस्तुति समेत रहने छ ।

इन्ड्राइभ शीर्ष प्रायोजक रहेको आइसिटी अवार्ड २०२५ मा नेपालपे क्युआर र एआई सञ्चार प्लटफर्म टिङटिङ इन एसोसिएसनमा रहेका थिए । यस्तै नेपालको नम्बर एक ट्राभल एजेन्सी सस्तो टिकेट्स, मोडेल इन्स्टिच्युट अफ टेक्नोलोजी र काठमाडौँ मोडेल कलेजको मुख्य सहकार्य रहेको थियो । यसैगरी यस कार्यक्रमको लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, नेपाल दूरसञ्चार प्राधिकरण, हाम्रो पे, नबिल बैंक, रिसेक्युरिटी, आदिम कलेज, फ्युजमसिन्स, नास आईटी लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिष्ठित संस्थाहरूको सहयोग र सहकार्य रहेको थियो ।