कीवर्डहरू -

नेपालमा ग्रीन हाइड्रोजन तथा फ्यूल सेल प्लान्ट स्थापना हुने, कारियाली कम्पनीसँग सम्झौता

नेपालमा ग्रीन हाइड्रोजन तथा फ्यूल सेल प्लान्ट स्थापना हुने, कारियाली कम्पनीसँग सम्झौता

नेपालमा ग्रीन हाइड्रोजन तथा फ्यूल सेल प्लान्ट स्थापना गर्नका लागि लगानी बोर्ड तथा दक्षिण कोरियाली कम्पनी जि– फिलोस कम्पनी लिमिटेडबिच विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयारी गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

समझदारीपत्रमा लगानी बोर्डको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली तथा प्रस्तावक कम्पनी जि – फिलोस कम्पनी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गा वु पार्कले बिहीबार समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।  

समझदारी अनुसार प्रस्तावक कम्पनी जि – फिलोस कम्पनी लिमिटेडले लगानी बोर्डबाट सर्वेक्षण अनुमतिपत्र प्राप्त गरेपश्चात विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गरी करिब १० महिना भित्रमा लगानी बोर्डको कार्यालयमा पेस गर्नेछ । 


यो पनि पढ्नुहोस्ः ‘नेपालको हाइड्रोजन भविष्यमा विश्वबजारमा बिक्री हुन्छ, आजैदेखि काम थाल्नु पर्छ’


प्रस्तावक कम्पनी जि–फिलोस कम्पनी लिमिटेडले नेपालमा सार्वजनिक–निजी साझेदारी ढाँचामा ग्रीन हाइड्रोजन तथा फ्युल सेल प्लान्ट स्थापना, विकास तथा सञ्चालनका लागि गत वैशाख १५ मा लगानी बोर्डको कार्यालयमा प्रस्ताव पेस गरेको थियो । 

लगानी बोर्डको ६३ औँ बोर्ड बैठकले उल्लिखित प्रस्तावक कम्पनीसँग समझदारी गरी सर्वेक्षण अनुमति प्रदान गर्ने निर्णय गरेको थियो । अब जी फिलोसले जलविद्युतबाट हरित हाइड्रोजनको ठूला मात्रामा उत्पादनको लागि पर्याप्त छ कि छैन्, यातायात, उद्योग, र ऊर्जा भण्डारण लगायतका क्षेत्रहरूमा देशभित्रको सम्भावित माग तथा क्षेत्रीय बजारहरूमा निर्यात सम्भाव्यता, लगानी, खर्च, पर्यावरणीय र सामाजिक प्रभाव, नीति तथा कानुनहरू अध्ययन, पाइलट परियोजनाको कार्यान्वयन, विस्तार सम्भाव्यता लगायत विस्तृत अध्ययन गरेर विस्तृत अध्ययन गरेर बोर्डमा बुझाउने छ । 

कम्पनीले नेपालको प्रशस्त जलविद्युत स्रोतबाट उत्पन्न अतिरिक्त विद्युत समेत प्रयोग गरी इलेक्ट्रोलाइसिस विधिमार्फत हरित हाइड्रोजन उत्पादन गर्ने लक्ष्य राखेको छ ।

यो पनि पढ्नुहोस्ः हाइड्रोजन उत्पादन र फ्युल सेल प्लान्ट स्थापना गर्न कोरियाली कम्पनीको प्रस्ताव