सूचीकरण नभएको भन्दै सामाजिक सञ्जाल प्रतिबन्धको सूचीमा हाम्रो पात्रो पर्दा धेरैलाई आश्चर्य लागेको थियो । हाम्रो पात्रोलाई उक्त सूचीमा देख्दा प्रयोगकर्ताहरू अचम्ममा पर्नुभयो भने विभिन्न थरिका हल्ला र अफवाहहरू सामाजिक सञ्जालमा देखिन थाले ।
सरकारको कानुन अनुसार हाम्रो पात्रो सामाजिक सञ्जालको सूचीमा नपर्ने हाम्रो पात्रोले बताएको छ । ‘नेपाल सरकारको कानुन अनुसार ‘सामाजिक सञ्जाल’ भन्नाले कुनै व्यक्ति, समूह वा संस्थालाई एक अर्कासिँग अन्तरक्रियात्मक सञ्चार गर्न सक्ने सुविधा तथा प्रयोगकर्ताले निर्माण गरेका विषयवस्तु प्रसार गर्ने सुविधा समेत प्रदान गर्ने समूह, ब्लग, एप हो। त्यस व्याख्या अनुसार, हाम्रो पात्रो अहिलेसम्म सामाजिक सञ्जालको श्रेणीमा पर्दैन,’ हाम्रो पात्रोले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
सुचना तथा सञ्चार प्रविधि मन्त्रालयले सामाजिक सञ्जालको सुचीमा हाम्रो पात्रोलाई पनि उल्लेख गरेपछि मन्त्रालयको निर्देशन अनुसार अहिले सुचना तथा सञ्चार प्रविधि मन्त्रालयमा हाम्रो पात्रो सुचीकृत गरिएको छ ।
तर, हाम्रो पात्रो भर्खरमात्र नेपालमा दर्ता गरायो भनेर अफवाह फैलाउने कार्य भएको कम्पनीको भनाइ छ । हाम्रो पात्रो सन् २०१६ (वि.सं. २०७३) देखि नेपालमा दर्ता भएको छ ।
स्मार्ट आईडियाज प्रालि नाम गरेको आइटी कम्पनीको उत्पादनको रूपमा नेपालमा दर्ता भएको छ लगभग १० वर्षदेखि नेपाल सरकारको कानुन बमोजिम एउटा जिम्मेवार संस्थाले पूरा गर्नुपर्ने सम्पूर्ण कार्यहरू पूरा गर्दै आइरहेको कम्पनीले बताएको छ । अहिले यस कम्पनीमा १०० भन्दा धेरै कर्मचारीहरू कार्यरत छन् र हाम्रो पात्रोले नेपालमा कर तिर्दै आइरहेको छ ।
विदेशमा बस्ने नेपालीहरूले आफू आउँदा ल्याएको पात्रो (क्यालेन्डर) वर्षदिनमा पुरानो हुने र नेपालको चाडपर्व र विशेष दिनहरूको बारेमा विदेशमा बस्ने नेपालीहरूलाई थाहा नहुने भएकाले शंकर उप्रेतीले २०१० मा हाम्रो पात्रोको शुरुवात गरेका थिए ।