कीवर्डहरू -

बैंक तथा वित्तीय संस्थाहरूलाई लक्षित गरी तयार गरिएको साइबर सुरक्षा रोडम्याप हस्तान्तरण

बैंक तथा वित्तीय संस्थाहरूलाई लक्षित गरी तयार गरिएको साइबर सुरक्षा रोडम्याप हस्तान्तरण

कम्प्युटर एशोशिएसन नेपाल (क्यान) महासंघ, सेन्टर फर साइबर सेक्युरिटी एण्ड रिसर्च (सीएसआरआई) र इन्फरमेसन सेक्युरिटी रेस्पोन्स टिम नेपाल (एनपी सर्ट) ले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेललाई साइबर सुरक्षा मजबुत पार्ने सम्बन्धित रोडम्याप हस्तान्तरण गरेका छन् । 

बैंक तथा वित्तीय संस्थाहरूलाई लक्षित गरी तयार गरिएको रणनीतिक दस्तावेज वरिष्ठ उपाध्यक्ष तथा वन कभर प्रालिका सीईओ चिरञ्जीबी अधिकारीद्वारा राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेललाई हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा सूचना प्रविधि मन्त्रालयका विज्ञ डा. शालिग्राम पराजुली, सीएसआरआई नेपालका पदाधिकारीहरू, एनपी सर्ट र क्यान महासंघका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । यस रोडम्यापले नेपालको डिजिटल वित्तीय प्रणालीलाई सुरक्षित, लचिलो र विश्वासिलो बनाउने आधार तयार पार्ने बताइएको छ ।

रोडम्यापका मुख्य बुँदाहरूमा प्रमुख सूचना सुरक्षा अधिकारी (सीआईएसओ) अनिवार्य नियुक्ति, फिनसर्ट नेपालको स्थापना, एनपीसर्टसँग एकीकरण र साइबर शिक्षा तथा सचेतना अभियानहरू समावेश छन् । 

रोडम्यापमा कोर बैंकिङ प्रणालीदेखि डिजिटल भुक्तानी सुरक्षासम्मका विषयलाई समेट्दै, रणनीतिले त्रैमासिक साइबर जोखिम मूल्यांकन, सेक्युरिटी अपरेसन सेन्टर स्थापना, मल्टी फ्याक्टर अथेन्टिकेसन, इन्क्रिप्शन, डेटा हानी रोकथाम र आपतकालीन प्रतिक्रिया योजना अनिवार्य गरिनुपर्ने उल्लेख गरिएको छ । 

साथै सीएसआरआई र विश्वविद्यालयहरूसँगको सहकार्यमा साइबर सुरक्षामा नवप्रवर्तन प्रवर्द्धन, छात्रवृत्ति कोष स्थापनालगायतका दीर्घकालीन योजनाहरू सञ्चालन गर्न सकिने सुझाव दिइएको छ ।