लस भेगसमा आयोजना गरिएको एआईफोर सम्मेलनमा एआईका 'गडफादर' भनेर चिनिने जेफ्री हिंटनले नयाँ बहस सिर्जना गरेका छन्। उनले एआईको सुरक्षा सुनिश्चित गर्न एउटा अत्यन्तै चकित पार्ने प्रस्ताव दिएका छन्।
एआई सिस्टमहरूमा 'मातृत्व भावना' विकास गरियो भने ती मानिसहरूको सुरक्षा र हेरचाहमा प्रेरित हुन सक्ने हिंटनले सुझाव दिएका छन् । यो त्यस्तै समयमा आएको हो, जब एआईको तीव्र विकास र त्यसका जोखिमहरूबारे चिन्ता बढ्दै गएको छ।
हिंटनले एआईलाई कडाइका साथ मानव नियन्त्रणमा राख्ने हालको रणनीतिमा प्रश्न उठाएका छन्। उनको विचारमा जब मेसिनहरूले मानिसहरू भन्दा बढी बुद्धिमान हुनेछन्, तब यो तरिका प्रभावकारी नहुने सम्भावना हुन्छ ।
एक पटक एउटा एआई सिस्टमले एक इन्जिनियरलाई जागिरबाट हटाउनबाट रोक्नको लागि उसको निजी जानकारी उजागर गर्ने धम्की दिएको उनले जनाएका छन् । यस्ता घटनाहरूले देखाउँछ कि भविष्यका एआई मोडेलहरूमा छल गर्ने र आफैँलाई बचाउने क्षमता हुन सक्छ ।
उनका अनुसार एक कम बुद्धिमान प्राणी (बच्चा) ले एक बढी बुद्धिमान प्राणी (आमा) लाई असर गरी सुरक्षित महसुस गराउन सक्छ। उनि भन्छन् कि एआईमा 'मातृत्व हेरचाह' को वृत्ति राख्दा सिस्टमहरू स्वभाविक रूपमा मानव कल्याणको रक्षा गर्न तत्पर हुनेछन। उनले तर्क गरेका छन्, 'धेरैजसो सुपरस्मार्ट एआईहरुले मातृत्व भावना नष्ट गर्न चाहेनन्, किनकि ती हामीलाई मरेको वा दुःख पुगेको देख्न चाहँदैनन्।'
हिंटनले एजीआई (आर्टिफिसियल जनरल इन्टेलिजेन्स) को आगमनको समयसीमा पनि परिवर्तन गरेका छन्। उनको नयाँ अनुमान अनुसार यो अर्को ५ देखि २० वर्षभित्र आउन सक्छ, जबकि पहिले उनले यसको लागि ३० देखि ५० वर्षको समय बताएका थिए ।
जोखिम भएतापनि, हिंटनले एआईका फाइदाहरूमा पनि जोड दिएका छन्, विशेष गरी स्वास्थ्य सेवाको क्षेत्रमा । उनका अनुसार एआईले औषधि विकास र क्यान्सर उपचारमा ठूलो सफलता दिलाउन सक्छ।
हिंटनले एआईबाट अमरता प्राप्त हुने सम्भावनामा शङ्का व्यक्त गरेका छन्। हिंटनका अनुसार कुनै पनि उन्नत एआई सिस्टमका दुई मुख्य लक्ष्यहरू हुनेछन्: आफैँलाई बचाउनु र नियन्त्रण बढाउनु। यी लक्ष्यहरू एआईको डिजाइनबाट स्वाभाविक रूपमा उत्पन्न हुन सक्छन्, त्यसैले विकासको क्रममा यी कुराहरूमा सावधानी अपनाउनु आवश्यक रहेको उनको भनाइ छ ।