कीवर्डहरू -

चीनमा हुवावेको आईटो एम एट लार्ज क्रसओभरको व्यापक चर्चा, सार्वजनिक हुनु अघिनै १ लाख अर्डर

चीनमा हुवावेको आईटो एम एट लार्ज क्रसओभरको व्यापक चर्चा, सार्वजनिक हुनु अघिनै १ लाख अर्डर

हुवावे र सेरेसद्वारा संयुक्त रूपमा बनाइएको ठूलो साइजको रेन्ज-एक्सटेन्डेड क्रसओभर गाडी आईटो एम एटले चीनमा सार्वजनिक हुनु अघिनै १ लाख अर्डर प्राप्त गरेको छ । यसको प्रि-सेल मूल्य ३,६८,००० देखि ४,५८,००० युआन (झण्डै ५० हजार ५४० देखि ६२ हजार ९०० अमेरिकी डलर) सम्मको रेन्जमा रहेको छ।

अब यो गाडी चाँडै नै चिनियाँ बजारमा औपचारिक रूपमा प्रवेश गर्दैछ। आईटो ब्रान्ड हुवावे र सेरेसबीचको सहकार्य हो । यो प्रोजेक्टमा सेरेसले च्यासिस डिजाइन र उत्पादनको जिम्मा लिएको छ भने हुवावेले गाडीको प्रविधिगत भाग, मुख्य कम्पोनेन्टको आपूर्ति र बिक्रीको काम सम्हालिरहेको छ ।

आईटो ब्रान्डका गाडीहरू हुवावेको हार्मोनी इन्टेलिजेन्ट मोबिलिटी अलायन्स (एचआईएमए) स्टोरहरूमा लक्सिड र स्टेलाटो जस्ता अन्य सहकार्य भएका ब्रान्डहरूसँगै बिक्रीमा रहेका छन्। आईटो ब्रान्ड अन्तर्गत अहिले आईटो एम फाइभ, एम सेभेन र एम नाइन गरी तीनवटा क्रसओभर गाडी उपलब्ध छन् ।

चीन ईभी डाटा ट्र्याकरका अनुसार यी मोडेलहरूको कूल बिक्री २०२४ मा ३ लाख ८५ हजार ९०४ युनिट पुगेको थियो । अब हुवावे र सेरेसले चौथो मोडेल आईटो एम एट सार्वजनिक गर्न लागिरहेका छन्, जसले सार्वजनिक हुनुअघि नै चीनमा ठूलो चर्चा कमाएको छ।

मार्च ६ मा चीनमा आईटो एम एटको प्रि-सेल सुरु गरिएको थियो । ५ हजार ००० युआन (लगभग ७०० डलर) को अग्रिम रकम बुझाउने ग्राहकहरूलाई गाडी सार्वजनिक भएपछि १०,००० युआन (झण्डै १,४०० डलर) छुट दिइने योजना थियो । सार्वजनिक हुनुअघि नै यस गाडीले निकै आकर्षण पाएको हो। प्रि-सेल सुरु भएको एक घण्टामा नै ७ हजार ५०० अर्डरहरू प्राप्त भएका थिए।

छ घण्टाभित्र अर्डर संख्या २१ हजार पुग्यो भने १२ घण्टामा २८ हजार युनिट पुगेको थियो । प्रि-सेल सुरु भएको दुई साताभित्र यो संख्या ७० हजार ००० पुगेको थियो। अप्रिल ७ मा एचआईएमएले आईटो एम एटले १ लाखभन्दा बढी अर्डर प्राप्त गरेको घोषणा गरेको थियो ।

आईटो एम एट डिजाइन र स्पेसिफिकेसनको हिसाबले फ्ल्यागशिप मोडेल आईटो एम नाइनसँग नजिक छ । यसको छानामा लाइडार सेन्सर, अगाडि एलईडी लाइट स्ट्रिपसहित ठूला हेडलाइट छन् । यो गाडी २१-इन्चका मल्टी-स्पोक रिममा कुद्छ। टिन्टेड रियर विन्डोज, रिट्रयाक्टेबल डुअर ह्यान्डलहरू र आकर्षक रङ विकल्पहरू यसका अन्य फिचरहरू हुन्।

यसमा ७५ इन्चको हुवावेको अगुमेन्टेड रियालिटी हेडअप डिस्प्ले र ठूलो तीनवटा स्क्रिन सेटअप छ । गाडीमा दुई मोटरयुक्त फोर ह्विल ड्राइभ प्रणाली छ, जसको पिक पावर ३९२ kW छ ।

गाडीमा १.५ लिटरको टर्बोचार्ज्ड रेञ्ज एक्सटेन्डर इन्जिन छ। ब्याट्री LFP वा ternary NMC प्रकारको हुन सक्छ जसको क्षमता ३६ kWh वा ५२ kWh हुन्छ। CLTC का अनुसार, गाडीको रेन्ज क्रमशः २०१ किमि र ३१० किमि रहेको छ।