हल्ट प्राइज पुलचोक क्याम्पसको फाइनल सम्पन्न भएको छ। होटल ए वान पार्टी प्यालेसमा भएको कार्यक्रममा नौ उत्कृष्ट टोलीबीच कडा प्रतिस्पर्धा भएको थियो ।
प्रतियोगितामा एग्रोकुल, अक्षरा, अक्वालाइफ, मातृत्व, मेडिओ, प्रगतिशील पावर अप्टिमाइजर्स, रि-लिफ प्लाष्टिक, सेकेण्ड आई र टाइकी गरी नौ टोलीले चार–चार मिनेटको प्रस्तुति दिएका थिए भने चार मिनेटको प्रश्नोत्तर चरण पूरा भएको थियो ।
निर्णायक मण्डलमा वेदका सह–संस्थापक तथा सिइओ सुजित पाठक, अधिवक्ता कृपा श्रेष्ठ, युथाइभ नेपालका सह–संस्थापक अजय यादव र मास्ता कलाका सह–संस्थापक निखिल अग्रवाल सहभागी थिए।
निर्णायकहरूले नवप्रवर्तन, सामाजिक प्रभाव, व्यवसायिक सम्भाव्यता र स्केलेबिलिटीका आधारमा मूल्यांकन गरेका थिए।
फाइनलमा सेकेण्डआई टिम विजेता बनेको छ । दुर्गम तथा विकट क्षेत्रमा रेडियोलोजिस्ट अभाव र स्वास्थ्य सेवामा पहुँचको समस्या प्रविधिबाट समाधान गर्ने सेकेण्डआईको आईडिया थियो ।
यस्तै रनरअप टिम रि-लिफ प्लाष्टिक बनेको छ । यस टोलीले आक्रामक वनस्पतिबाट वैकल्पिक प्लास्टिक उत्पादन गर्ने वातावरणमैत्री समाधान प्रस्तुत गरेको थियो ।
दोस्रो रनरअप उपाधि टिम टिकीले हात पारेको छ । सहरीकरणका कारण घट्दो कृषि जमिन समस्यालाई लक्षित गर्दै घरमै अर्गानिक तरकारी उत्पादन गर्न मिल्ने पोर्टेबल समाधान प्रस्तुत गरेको टोलीलाई निर्णायकले व्यावहारिक र दिगो अवधारणाका लागि प्रशंसा गरेका थिए।
विजेताहरूलाई सम्मान तथा विभिन्न पुरस्कार प्रदान गरिएको छ । कार्यक्रममा टाइटल स्पोन्सर हिमा अस एजुकेसनल कन्सल्टेन्सी, गोल्ड स्पोन्सर टेक एक्सिस र ग्लो एन साइनसहित विभिन्न साझेदार संस्थाको सहयोग रहेको थियो।
आईसीटी समाचार