कीवर्डहरू -

गण्डकी प्रदेशको गल्याङमा ‘आइसिटी ज्ञान’ कार्यक्रम सम्पन्न

गण्डकी प्रदेशको गल्याङमा ‘आइसिटी ज्ञान’ कार्यक्रम सम्पन्न

आइसिटी फाउन्डेसन नेपाल र एनसेल फाउन्डेसनको सहकार्यमा सञ्चालित डिजिटल साक्षरता कार्यक्रम आइसिटी ज्ञान गण्डकी प्रदेशमा सम्पन्न भएको छ । 

जेठ २५ गते गण्डकी प्रदेशको स्याङ्जा जिल्ला अन्तर्गत गल्याङ नगरपालिका–१, माडरुस्थित सार्वजनिक नवयुग माध्यमिक विद्यालयमा डिजिटल साक्षरता प्रदान गरिएको हो ।

null

आइसिटी फाउन्डेसन नेपाल र एनसेल फाउन्डेसनको संयुक्त पहलमा आयोजित उक्त कार्यक्रममा ‘सबैका लागि प्रविधि, प्रविधिमा सबैको पहुँच’ भन्ने नाराका साथ प्रविधि पहुँच विस्तार र डिजिटल साक्षरताको सन्देश फैलाइएको थियो ।

कार्यक्रममा १५० बढी सहभागीको उपस्थिति थियो । कार्यक्रमका प्रमुख अतिथि गल्याङ नगरपालिका–१ का वडा अध्यक्ष मणि बस्यालले सरकारी सेवामा सूचना प्रविधिको प्रयोग दिनप्रतिदिन बढ्दै गएको उल्लेख गर्दै अबको कार्यशैलीलाई प्रविधि अनुरूप विकास गर्नुपर्ने आवश्यकता औँल्याएका थिए ।

यस्तै विद्यालयका प्रधानाध्यापक चुडामणि पाण्डेले विद्यार्थीहरूले प्रविधिको प्रयोग पढाइ र सीप विकासमा गर्नुपर्नेमा जोड दिए । उनले प्रविधिको महत्त्व अत्याधिक रहेको भन्दै विद्यार्थीहरूले यसलाई बुझेर आफ्नो परिवार तथा समाजमा समेत प्रविधि साक्षरता फैलाउन सक्ने कुरामा पनि विश्वास व्यक्त गरेका थिए । 

कार्यक्रमका विभिन्न सत्रहरूमा वक्ताहरूले प्रविधिसम्बन्धी महत्वपूर्ण विषयमा जानकारी प्रस्तुत गरेका थिए । रेशम भण्डारीले डिजिटल सेवा तथा नयाँ प्रविधिबारे प्रष्ट पार्दै दैनिक जीवनमा प्रविधिको भूमिकाबारे चर्चा गरेका थिए ।

सञ्जय पौडेलले ई–लर्निङ्ग तथा सीप विकास उपकरणहरू कसरी शिक्षामा उपयोगी हुन्छन् भन्ने विषयमा जानकारी दिए भने सन्तोष अर्यालले नागरिक एपको उपयोग, सरकारी सेवा पहुँच र डिजिटल पहुँचको महत्वबारे प्रस्तुति दिएका थिए । 

null

यस्तै, राजन लम्सालले अनलाइन सुरक्षा, साइबर अपराध र डिजिटल जोखिमबाट कसरी बच्ने भन्ने विषयमा सहभागीहरूलाई सजग बनाउँदै व्यावहारिक उपायहरू प्रस्तुत गरेका थिए ।

एनसेलको ‘१८ फर १८’ परियोजना अन्तर्गत सञ्चालित आइसिटी ज्ञान कार्यक्रम सातै प्रदेशमा सञ्चालन भइरहेको छ । यसअघि कोशी, मधेश, कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा सम्पन्न भइसकेको छ ।

null

सातै प्रदेशमा सञ्चालन भइरहेको आइसिटी ज्ञान कार्यक्रमले डिजिटल विभाजन घटाइ जनस्तरसम्म डिजिटल साक्षरता र सशक्तिकरण प्रवद्र्धन गर्न भूमिका खेल्ने बताइएको छ ।