इन्स्टाग्रामले प्रयोगकर्ताहरूका लागि नयाँ सामाजिक फिचर “ब्लेण्ड“ सार्वजनिक गरेको छ ।
यो फिचरले रील फिडलाई व्यक्तिगत बनाउने विकल्प दिन्छ, जसलाई प्रयोगकर्ताले आफ्ना साथीहरूसँग साझा गर्न सक्छन् । इन्स्टाग्राम ब्लेण्ड फिचर विश्वभरि रोल आउट भइरहेको छ । यसको उद्देश्य रील्सलाई पहिलेभन्दा धेरै खोजयोग्य बनाउनु हो, जसले गर्दा प्रयोगकर्ताहरूले रमाइलो कन्टेन्ट अझ बढी मज्जा लिएर हेर्न सकून् ।
के हो इन्स्टाग्राम ब्लेण्ड फिचर?
ब्लेण्ड फिचरले प्रयोगकर्तालाई कस्टमाइज्ड रील फिड बनाउन दिनेछ, जस मार्फत प्रयोगकर्ताले साथी वा समूहसँग सेयर गर्न सक्नेछन् । प्रयोगकर्ताले जतिसुकै ब्लेण्ड फिड तयार गर्न सक्छन्, जुन छुट्टाछुट्टै रुचि र ग्रुपको हेर्ने बानीका आधारमा कन्टेन्ट देखाउनेछ । यसमा कन्टेन्ट हरेक दिन अपडेट हुनेछ, जसले गर्दा हरेक पटक चेक इन गर्दा प्रयोगकर्ताले आकर्षक अनुभव प्राप्त गर्नेछन् ।
ब्लेण्डमा प्रयोगकर्ता केवल इन्भाइटको माध्यमबाट मात्र जोडिन सक्छन् । यसको लागि प्रयोगकर्ताले डायरेक्ट म्यासेज गर्नुपर्ने हुन्छ । त्यसपछि उनीहरूले ब्लेण्ड रिक्वेस्ट पठाउन सक्छन्, जुन अर्काे प्रयोगकर्ताले स्वीकृत गर्नुपर्ने हुन्छ । एकपटक ब्लेण्ड स्वीकृत भएपछिमात्र यो च्याटमा सक्रिय हुन्छ ।
कसरी बनाउने ब्लेण्ड फिड?
स्टेप १ – सबैभन्दा पहिले एक–एक जनाको वा ग्रुप डिएम च्याट खोल्नुहोस् ।
स्टेप २ – अब च्याट स्क्रिनमा देखिने नयाँ ब्लेण्ड आइकनमा ट्याप गर्नुहोस् ।
स्टेप ३ – यहाँ इन्भाईटमा क्लिक गरी ब्लेण्ड इन्भाइट पठाउनुहोस् ।
स्टेप ४ – ब्लेण्ड फिड तब मात्रै सुरू हुनेछ जब कुनै एक सदस्यले रिक्वेस्ट एक्सेप्ट गर्नेछ ।
स्टेप ५ – ब्लेण्ड मा ट्याप गरेर तपाईं कहिल्यै पनि साझा फिडमा जान सक्नुहुन्छ ।
इन्स्टाग्राम ब्लेण्ड फिड मा कन्टेन्ट हरेक दिन अपडेट हुनेछ । प्रयोगकर्ताले जति पटक यो फिड हेर्छन्, उति पटक उनीहरूको मनपर्ने आधारमा नयाँ रील्स देख्न पाउनेछन् । समूहमा कुनै पनि रीलमा रिएक्ट वा लाइक गर्दा सबै सदस्यलाई सूचना प्राप्त हुनेछ ।
इन्स्टाग्राम ब्लेण्डको यो नयाँ फिचर संगीत स्ट्रिमिङ एप स्पटीफाईको ब्लेण्ड फिचरबाट प्रेरित हो । स्पटीफाईमा प्रयोगकर्ताले आफ्ना साथी वा परिवारसँग प्लेलिस्ट साझा गर्न सक्छन्, जुन उनीहरूको संगीत प्राथमिकताअनुसार हरेक दिन अपडेट हुन्छ । त्यस्तै गरी, इन्स्टाग्राम ब्लेण्ड फिड पनि हरेक दिन रिफ्रेश हुनेछ, ताकि प्रयोगकर्ताले हरेक दिन आफ्ना फिडमा नयाँ रील्स पाउन सकून् ।