सूचना तथा सञ्चार प्रविधि (आईसीटी) र फोटोनिक्ससम्बन्धी अन्तर्राष्ट्रिय कन्फेरेन्स ‘आइसिटीपी २०२६’ सुरू भएको छ । कन्फेरेन्स बुधबारदेखि सुरू भए पनि औपचारिक उद्घाटन बिहीबार सम्पन्न गरिएको हो ।
उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क ताइ योङ तथा विशिष्ट अतिथिका रूपमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका अध्यक्ष राजेन्द्र धोज जोशी सहभागी थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पार्क ताइ योङले दिगो विकास र समावेशी वृद्धिका लागि प्रविधि महत्वपूर्ण आधार भएको बताए । उनले आइसिटीपीले अध्ययन र अनुसन्धानका क्षेत्रमा अन्तरदेशीय सहकार्य विस्तार गर्न तथा ज्ञान आदान–प्रदानलाई सुदृढ बनाउन सहयोग गर्ने उल्लेख गरे ।
त्यसैगरी, अध्यक्ष जोशीले अनुसन्धानमुखी शिक्षामा जोड दिँदै यस्ता खालका कार्यक्रमले विश्वविद्यालय तथा अनुसन्धान संस्थाहरूमा अनुसन्धान संस्कृतिको विकासमा टेवा पुग्ने बताए ।

स्वागत मन्तव्य दिँदै कन्फेरेन्सका अध्यक्ष प्रा. डा. विकास नकर्मीले आइसिटीपी २०२६ केवल सम्मेलन मात्र नभई विज्ञान तथा प्रविधिको क्षेत्रमा नयाँ अध्यायको सुरुआत भएको दाबी गरे । उनले सहकार्य, ज्ञान आदान–प्रदान र संवादमार्फत नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको बताए ।
कोरियन इन्स्टिच्युट अफ टेक्नोलोजी (KAIST) अन्तर्गत ग्राजुएट स्कुल अफ ग्लोबल डिजिटल इन्नोभेसन (GDI) का डीन प्रा. सेउङ हुन याङले दिगो र समावेशी डिजिटल इन्नोभेसनका लागि कन्फेरेन्सले नयाँ मार्ग निर्माण गर्ने विश्वास व्यक्त गरे । आईईईई (IEEE) नेपाल सेक्सनका अध्यक्ष प्रा. डा. अरूण तिमिल्सिनाले भविष्यको प्रविधिको आधार आइसिटी र फोटोनिक्स नै भएको उल्लेख गर्दै यसले डिजिटल रूपान्तरणलाई गति दिने बताए ।
फागुन २ गते शनिबारसम्म सञ्चालन हुने कन्फेरेन्समा पाँचभन्दा बढी किनोट सत्र, १३ प्लेनरी टक, ५२ मौखिक प्रस्तुति तथा २४ पोस्टर प्रस्तुति समावेश छन् ।

रिसर्च एण्ड इन्नोभेसन सेन्टर नेपाल (RICON) र नेपाल इन्जिनियरिङ कलेजको आयोजना तथा आईईईई नेपाल च्याप्टर र आईईईई ई–फोटोनिक्स नान्जिङ च्याप्टरको प्राविधिक सहयोगमा आयोजित कन्फेरेन्समा फोटोनिक्स, आर्टिफिसियल इन्टेलिजेन्स, कम्प्युटिङ, नवीकरणीय ऊर्जा, आइसिटी नीति, डिजिटल गभर्नेन्स र रोबोटिक्सका क्षेत्रमा नवीनतम अनुसन्धान तथा प्रविधि अभिवृद्धिसम्बन्धी कार्यपत्रहरू प्रस्तुत गरिनेछ ।
यसैबीच, कन्फेरेन्सको पूर्वसन्ध्यामा कायस्ट जीडीआईले बुधबार ‘डिजिटल इन्नोभेसन इम्प्याक्ट’ विषयमा कार्यशाला समेत सञ्चालन गरेको थियो ।
‘स्मार्ट र दिगो विश्वका लागि सूचना तथा सञ्चार प्रविधि र फोटोनिक्सको उन्नति’ भन्ने मूल नारासहित आयोजित कार्यक्रममा कोरिया, भारत, चीन, भियतनामलगायत १२ देशका अनुसन्धानकर्ता, प्राज्ञिक, नीति–निर्माता तथा प्रोफेसनलहरूको सहभागिता रहेको छ ।

आईसीटी समाचार