कीवर्डहरू -

प्लस टुपछि आईटी: के पढ्ने, किन पढ्ने र कस्तो छ अवसर ?

प्लस टुपछि आईटी: के पढ्ने, किन पढ्ने र कस्तो छ अवसर ?
एआईबाट बनाइएको तस्बिर

‘प्लस टु’ सकेपछि धेरै विद्यार्थीको मनमा एउटै प्रश्न उठ्छ — अब के गर्ने ?। विज्ञान, व्यवस्थापन, मानविकी — जुनसुकै संकायबाट अध्ययन गरेको भए पनि सूचना प्रविधिको क्षेत्रमा केही गर्ने सोच धेरैको हुन्छ । प्रविधिमा रुचि राख्ने युवा पुस्ताका लागि यो क्षेत्र अवसर र चुनौती दुवै हो ।

अझ अहिलेको युगमा, सूचना प्रविधि (आईटी) अनिवार्य जस्तै भइसकेको छ । अहिलेको युवा पुस्ता प्रविधिसँगै हुर्किरहेको छ । तर, आईटी भन्नासाथ के पढ्ने ? र किन पढ्ने ? भन्ने स्पष्ट जानकारी धेरैलाई नहुँदा निर्णय गर्न गाह्रो पर्छ ।

कतिपय आफ्नै इच्छाले आईटी पढ्न आएका हुन्छन् भने कति अरूको तल लहमै । कुनै समय थियो पढेपछि मात्रै पनि जागिर पाइन्थ्यो, तर अहिले समय फेरिएको छ । प्रतिस्पर्धा बढेको छ । डिग्रीभन्दा पनि सीपलाई महत्त्व दिन थालिएको छ । 

त्यसमाथि प्लस टुपछिको उच्च शिक्षा अर्थात स्नातकको बाटो भनेको ‘भविष्यको रेखा कोर्ने’ समय हो । यस्तो अवस्था आईटीको विस्तृत जानकारी लिएर मात्रै पढ्नु उपयुक्त हुन्छ । 

के पढ्ने ? 

आईटीभित्र धेरै ‘स्पेस्लाइज्ड’ कोर्षहरू छन् । नेपालमा पनि स्वदेशी तथा विदेशी विश्वविद्यालयका विभिन्न कोर्षहरू पढाइ हुन्छन् । आफ्नो रूची अनुसार विषय छनौट गर्न सकिन्छ । रूची बिना आईटीमा भविष्य छ भन्दै अरूको लह लहमै पढ्न थाल्नु भयो भने उपयुक्त हुँदैन् । 

आईटी पढ्नका लागि ‘लर्निङ एटिच्युड’ हुन एकदमै आवश्यक रहेको एनसीआईटी कलेजका प्रिन्सीपल निरञ्जन खकुरेल बताउँछन् । ‘प्रविधि परिवर्तन भइरहने क्षेत्र हो । आज पढेको कुरा भोलि काम लाग्न पनि सक्छ नलाग्न पनि सक्छ । यसमा नयाँ नयाँ इन्नोभेसन भइरहेको हुन्छ । आफुलाई अपडेट गरिरहनु पर्छ,’ उनले अगाडि भने ।  

आईटी भित्र पनि धेरै कोर्षहरू छन् । नेपालमा पनि ब्याचलर्समा एआई, साइबर सेक्युरिटी, डेटा साइन्स, कम्प्युटर इन्जिनियर, आईटी इन्जिनियर, सफ्टवेयर इन्जिनियर, बीसीए, बीआईएम, बीआईटी जस्ता विषयहरू पढाइ हुन्छन् । तर ब्याचलर्समा आईटीको जुनसुकै कोर्ष पढेपछि ‘सीप’ एकदमै महत्त्वपूर्ण । पढाइ सकिएर कलेजबाट जाँदै गर्दा तपाईसँग सीप हुनु पर्छ ।

टेकस्पायर कलेजका अध्यक्ष लक्ष्मण पोखरेल भन्छन् - आईटी भनेको यस्तो कोर्ष हो, जुन पढेर मात्र हुँदैन्, ‘पर्नु’ पर्छ । पर्नका लागि पढ्दा खेरि नै सिक्नु पर्छ ।

पोखरेलले भने जस्तै डिग्री एउटा बाटो हुन सक्छ । तर मुख्य कुरा सीप विकास नै हो । तपाईसँग सीप छैन् भने जुनसुकै डिग्री लिएपनि काम छैन् । 

यता, सीएसआईटी एशोशिएसन नेपालकी महासचिव अपेक्षा बस्नेत डिग्री जुनसुकै डिग्री लिएपनि बजारमा जाँदा सीप नै आवश्यक पर्ने बताउँछिन् । ‘डिग्रीले केही हदसम्म म्याटर गर्छ । तर बजारमा जाँदा सीप नै बिक्छ,’ उनले आइसिटी समाचारसँग भनिन, ‘त्यसैले डिग्रीसँगसँगै पहिलो दिनदेखि नै सीप विकासमा काम गर्नुपर्छ ।’

डिग्री जुनसुकै भएपनि सीप आउनु पर्छ । यसका लागि सुरूमै तपाईलाई के मा रूची छ ? त्यो अनुसार सीप विकास गर्न सकिन्छ । आईटी भन्ने बित्तिकै धेरैको दिमागमा कोडिङ आउँछ । कोडिङ गर्नुनपर्ने वा एकदमै कम कोडिङ गर्नुपर्ने विषय पनि आईटीमा छन् । 

कोडिङ मन नपर्ने विद्यार्थीले मल्टिमिडिया, ग्राफिक्स, कन्टेन्ट, डिजिटल मार्केटिङ, प्रोजेक्ट म्यानेजर, डेटा एनालिष्ट जस्ता विषय पनि छनौट गर्न सक्छन् । 

किन पढ्ने आईटी ? 

अहिले आईटीको प्रयोग हरेक क्षेत्रमा हुन्छ । २१औं शताब्दीमा ‘आईटी’ फाउन्डेसन हो । यसको आधारभूत ज्ञान सबैसँग हुनुपर्ने अनिवार्यता भइसकेको छ । लेख्न पढ्न आउनुपर्ने जस्तै आईटीको आधारभूत ज्ञान सबैलाई हुनुपर्छ ।

अहिले युगमा आईटी नभइ नहुने भइसकेको सफ्टवेयर इन्जिनियर अनिल पौड्यालले बताए । ‘२१औं शताब्दीको फाउन्डेसन हो, आईटी । आईटी क्षेत्रले हरेक क्षेत्रलाई छुन्छ,’ पौड्याले भन्छन्, ‘नेपालमा आईटी उद्योग बुमिङ भइरहेको छ । विकासशील देशहरू अबको आईटीको हब हो । किनकी लेबर कस्ट कम छ । अब आईटी नभइ नहुने अनिवार्यता जस्तै भइसकेको छ ।’

आईटीमा सम्भावना पनि उत्तिकै छन् । नेपालमै बसेर विश्वको काम गर्न सकिन्छ । सरकारी सेवामा पनि आईटी माग बढ्दो छ ।

नेपालमा मात्र होइन विश्वभर नै आईटीको उत्तिकै माग रहेको पोखरेल बताउँछन् । कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई आईटी सीप सिक्नका लागि खाली समयको सदुपयोग गर्न उनको सुझाव छ । टेकस्पायर कलेजले पनि प्रशिक्षणको सहकार्यमा अहिले निःशुल्क आईटी सिकाइरहेको छ । 

आईटी पढेर वेब तथा मोबाइल एप डेभलपर, डेटा साइन्टिस्ट, प्रोग्रामर, एआई इन्जिनियर, कम्प्युटर साइन्टिस्ट, ब्लकचेन डेभलपर, सफ्टवेयर इन्जिनियर, नेटवर्क इन्जिनियर, आईटी अफिसर, डिजिटल मार्केटर, भिडियो एडिटर, युआई/युएक्स जस्ता रोजगारी पाउन सकिन्छ । 

कहाँ पढ्ने ? 

नेपालमा अहिले आईटी पढ्ने कलेजहरू धेरै छन् । स्वदेशी तथा विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर पढाउने कलेको लर्को छ । यस्तोमा कुन कलेज रोज्ने ? कहाँ पढ्ने ? जस्ता प्रश्न आउनु स्वभाविक नै हो । 

जुन कलेजमा सिकाइको वातावरण हुन्छ, त्यो छनौट गर्नुपर्ने खकुरेलको भनाइ छ । ‘पढाउन त सबै कलेजले पढाउँछन् । अहिलेको युगमा प्रतिस्पर्धी जनशक्ति चाहिन्छ । थ्योरी पढेर ग्रेड ए आएको मात्रै हुनु भएन । सीप आउनुपर्‍यो । सीप विकासका लागि विभिन्न ह्याकाथन, कन्फेरेन्स र कार्यक्रम हुने कलेजका विद्यार्थी अरूभन्दा अगाडि हुन्छन्,’ उनले भने ।  

आईटी भनेको सीपयुक्त पढाइ हो । यसमा सैद्धान्तिक ज्ञान भएर मात्रै केही हुँदैन्, त्यो भन्दा महत्त्वपूर्ण कुरा उद्योगको ज्ञान आवश्यक पर्छ । यसमा टेकस्पायर कलेजका अध्यक्ष पोखरेल भन्छन - विश्वविद्यालयको पाठ्यक्रमसँगै उद्योगको पाठ्यक्रम पढाउने कलेज छनौट गर्नुपर्छ । 

अहिले धेरै कलेजहरूको जानकारी अनलाइनबाटै पाउन सकिन्छ । कलेज कस्तो छ ? सेवा सुविधा के के छन् ? शुल्क लगायतका जानकारी अनलाइनमै उपलब्ध छन् । त्यस कलेजमा एलुमुनलाईसँग पनि सामाजिक सञ्जालमा कुरा गरेर जानकारी हासिल गर्न सकिन्छ । यस्तो अवस्थामा अरूले भनेकै आधारमा कलेज छनौट गर्नु उपयुक्त नहुन सक्छ । 

अरूले भनेको आधारमा भन्दा पनि आफुले जानेर बुझेर कलेज छनौट गर्नुपर्ने पौड्याल बताउँछन् । ‘अरूले भनेको आधारमा कलेज छनौट गर्नुहुन्छ भने त्यो उपयुक्त हुँदैन् । अरूबाट सल्लाह सुझाव लिन सकिन्छ,’ उनी नयाँ विद्यार्थीलाई सुझाव दिदै भन्छन्, ‘जता पढेपनि सबै मुख्य कुरा एउटै हो । तर मिहिनेत चाहि गर्नुपर्छ । कलेज जस्तो रोजेपनि कसरी पढ्ने भन्ने कुरा आफुमा भर पर्छ ।’ 

आईटीका लागि पनि अहिले अनलाइनबाटै विभिन्न निःशुल्क स्रोतहरू उपलब्ध छन् । विश्वका टप आईटी कम्पनीले एजुकेसन इमेलबाट स्रोतहरूमा निःशुल्क पहुँच दिने गरेका छन् । मात्र, ल्यापटप र इन्टरनेट भए पुग्छ । 

आईटी भनेको ‘माइन्डसेट अफ इन्नोभेसन’ भएको बताउँदै पौड्याल भन्छन - शिक्षकले पढाएको भरमा मात्रै रोजगारी पाउन गार्‍हो छ । आफै अग्रसर भएको सीप विकासमा काम गर्नुपर्छ । 

कति लाग्छ शुल्क ? 

कलेजले दिने सुविधा अनुसार कोर्षहरूको शुल्क निर्धारण गरिएको हुन्छ । सरकारी कलेजमा कोर्षको शुल्क निजी भन्दा केही सस्तो हुन्छ । त्यस बाहेक कलेजमा छात्रवृत्तिको सुविधा पनि हुन्छ ।

पूर्णदेखि आंशिक छात्रवृत्ति सुविधा पाउन सक्नुहुन्छ । तर कोर्ष र कलेजले दिने सुविधा अनुसार ५ लाखदेखि २० लाखसम्म कोर्षको शुल्क पर्न सक्छ । कुन र कस्तो कलेजमा पढ्ने त्यसको छनौट र निर्णय तपाई आफैले गर्नुपर्छ ।