ज्योति विकास बैंक र एनसीएचएलबीच नेशनल पेमेन्ट स्वीच (एनपीएस) - नेशनल कार्ड स्वीच (एनसीएस) को डोमेस्टिक कार्ड स्किम (नेपालपे कार्ड) का लागि प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट वरिष्ठ उप–प्रमुख कार्यकारी अधिकृत प्रकाश बराल तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।
एनसीएचएलले हालै एनपीएस - एनसीएसको पूर्वाधारको तयारी पूरा भएको घोषणा गर्दै बैंक वित्तीय संस्थाहरुलाई नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम नेपालपे कार्ड इस्यूइङ्ग र अक्वायरिङ्गका लागि आफ्नो स्विच इन्टिग्रेट गर्न आग्रह गरेसँगै बैंक वित्तीय संस्थाहरु एनपीएस - एनसीएस/नेपालपे कार्डमा आवद्ध भइरहेका छन् । नेपालपे कार्ड पूर्वाधारको कमर्सियल रोलआउट पश्चात ज्योति विकास बैंकले ग्राहकहरुका लागि उक्त कार्ड इस्यू तथा अक्वायर गर्न सक्नेछन् ।
एनपीएस - एनसीएसलाई विभिन्न कार्ड स्विचहरूबीच अन्तरआबद्धता कायम गर्दै डोमेस्टिक कार्ड कारोबारहरुको राउटिङ्ग र सेटलमेन्टको लागि एक सेन्ट्रल कार्ड स्विचको रुपमा स्थापना गरिँदैछ । उक्त प्रणालीको पूर्ण कार्यान्वयन पश्चात डोमेस्टिक कार्ड कारोबारहरूको लागत घटाउने, डाटा लोकलाइजेशन सुनिश्चित गर्ने र डिजिटल इकोसिस्टममा नवीनतम उपकरणहरुको विकास तथा प्रवद्र्धन हुने अपेक्षा गरिएको छ ।