कीवर्डहरू -

सुरू भयो केसीसी एक्जिबिट २०२५, प्रदर्शनीमा ४० बढी विद्यार्थीका आईटी परियोजनाहरू

सुरू भयो केसीसी एक्जिबिट २०२५, प्रदर्शनीमा ४० बढी विद्यार्थीका आईटी परियोजनाहरू

पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कान्तिपुर सिटी कलेज (केसीसी) ले आयोजना गरेको ‘KCC Exhibit 2025’ सुरू भएको छ । 

इन्नोभेट, एक्जिबिट र इन्स्पायर नारासहित शुक्रबार र शनिबार २ दिनसम्म कलेज परिसरमा चल्ने प्रर्दशनीको उद्घाटन सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्बी सुब्बा गुरूङले गरेका छन् ।  

यो दुईदिने कार्यक्रमले विद्यार्थीहरूका सिर्जनात्मक र व्यावहारिक क्षमतालाई उजागर गर्नुका साथै शैक्षिक क्षेत्र र उद्योग क्षेत्रबीचको सहकार्यलाई प्रवर्द्धन गर्ने उद्देश्य राखिएको छ ।

कार्यक्रममा उद्घाटन शत्रमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (NAST) का सचिव डा. रवीन्द्र प्रसाद ढकाल, सूचना प्रविधि विभागका महानिर्देशक रमेश शर्मा पौडेल, क्यान महासंघकी अध्यक्ष सुनैना पाण्डे, व्यवस्थापन संघका महासचिव इन्द्र कुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको छ । 

प्रदर्शनीमा ४० भन्दा बढी आईटीसँग सम्बन्धित विद्यार्थीका परियोजनाहरू राखिएको छ । जसमा कृत्रिम बुद्धिमत्ता (AI), इन्टरनेट अफ थिङ्स (IoT), वेब तथा मोबाइल एप्लिकेसन, शैक्षिक प्लेटफर्म, सिभिल इञ्जिनियरिङ मोडल, ट्राफिक व्यवस्थापन प्रणाली, भूकम्प प्रतिरोधी संरचनाजस्ता विषय समावेश छन्। 

त्यस्तै, व्यवस्थापन संकाय अन्तर्गत अध्ययनरत बीबीएका विद्यार्थीहरूले सञ्चालन गर्ने ५ भन्दा बढी खाना स्टलमार्फत स्थानीय तथा फ्युजन स्वादका परिकारहरू प्रस्तुत गरिनेछ। यसले विद्यार्थीहरूको उद्यमशीलता विकासमा सघाउ पुर्‍याउनुका साथै आगन्तुकहरूलाई फरक स्वाद अनुभव गराउने अपेक्षा गरिएको छ।

कार्यक्रमको सांस्कृतिक पक्ष पनि आकर्षक बनाइएको छ। प्रदर्शनीका दौरान चर्चित गायिका एञ्जिला रेज्मीको लाइभ कन्सर्ट, हास्य कलाकार जितु नेपाल (मुन्द्रे)को विशेष प्रस्तुति तथा विद्यार्थीहरूद्वारा प्रस्तुत सांगीतिक प्रस्तुतीहरूले माहोललाई झनै रंगीन बनाउने छन्।

दुईदिने यस प्रदर्शनीमा करिब १० हजार भन्दा बढी दर्शकहरूको सहभागिता अपेक्षा गरिएको छ, जसमा विद्यार्थी, शिक्षक, अभिभावक, उद्यमी, प्रविधि विज्ञ, सञ्चारकर्मी र सर्वसाधारण रहनेछन् । प्रदर्शनीले विद्यार्थीहरूलाई आफ्नो प्रतिभा प्रस्तुत गर्न सशक्त मंच प्रदान गर्नुका साथै नेपालमा नवप्रवर्तन र उद्यमशीलताको संस्कृति विकासमा सकारात्मक योगदान दिने विश्वास गरिएको छ।