धापाखेलस्थित कान्तिपुर इन्जिनियरिङ कलेज (केईसी) ले ‘केईसी लाइट २०८२’ कार्यक्रम आयोजना गर्ने भएको छ। विद्यार्थीहरूमा नवप्रवर्तन, प्राविधिक उत्कृष्टता र सहकार्यको भावना विकास गर्नुका साथै कक्षाकोठाबाहिरको व्यवहारिक सिकाइलाई प्रोत्साहन गर्न केईसी लाइट आयोजना गर्न लागिएको हो ।
फागुन १४ गते सञ्चालन हुने कार्यक्रममा विभिन्न कलेजका विद्यार्थी, नवप्रवर्तक तथा प्रविधिमा रूची राख्नेहरू सहभागी हुनेछन् । उनीहरूलाई एउटै मञ्चमा ल्याई शैक्षिक सिकाइलाई व्यवहारिक अभ्याससँग जोड्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ।
कार्यक्रममा रोबोटिक्स प्रतियोगिता अन्तर्गत रोबो रेस, रोबो सकर र मेज सल्भर जस्ता प्रतिस्पर्धा समावेश छन्। साथै सफ्टवेयरतर्फ ह्याक अ लाइट, क्याप्चर द फ्ल्याग, कोड वार्स, टेक्निकल क्विज तथा युआई/युएक्स डिजाइन कार्यशाला आयोजना गरिनेछ।
सिभिल इन्जिनियरिङतर्फ पप्सीकल ब्रिज, अटोक्याड प्रतियोगिता, सेक टेबल, सर्भे रस लगायत संरचना र डिजाइनसम्बन्धी प्रतियोगिताहरू हुनेछन्।
केईसी लाइट २०८२ को प्रमुख आकर्षणका रूपमा विद्यार्थीहरूले तयार पारेका नवीन इन्जिनियरिङ परियोजनाहरूको प्रत्यक्ष प्रदर्शनी रहनेछ। उन्नत रोबोटिक्स प्रदर्शनअन्तर्गत ‘चङ्खे’ चार खुट्टे (quadruped) रोबोटिक प्रणालीको प्रस्तुति पनि रहनेछ, जुन ओमोडा जेइको सहकार्यमा प्रदर्शन गरिने जनाइएको छ।
आईसीटी समाचार