खल्ती र आईएमई पेबीच आजदेखि एकीकृत कारोबार हुने भएको छ । बिहीबार एक विशेष समारोह आयोजना गर्दै खल्ती र आईएमई पेले यसको औपचारिक घोषणा गर्दैछन् ।
आईएमई पे र खल्तीको एकीकृत कारोबारपछि आधिकारिक रूपमा कम्पनीको नाम आईएमई खल्ती लिमिटेड रहने छ । नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्टारको कार्यालयमा मर्जरका लागि अन्तिम स्वीकृति पाएसँगै आजबाट आईएमई खल्तीको नामबाट एकीकृत कारोबार हुन लागेको हो ।
नेपालको इतिहासमै दुई ठूला डिजिटल वालेटबीच मर्ज हुन लागेको यो पहिलो पटक हो । मर्जरपछि वालेटको नाम भने खल्ती नै राखिएको छ ।
मर्जरसँगै खल्तीको नयाँ लोगो समेत सार्वजनिक भएको छ । जसमा रातो रङ मुख्य बनाइएको छ । लोगोको दायाँपट्टी आईएमई पेको ब्राण्ड झल्काउने चङ्गा राखिएको छ भने तल बाई आईमएई भनेर पनि लेखिएको छ ।
सामाजिक सञ्जालहरूमा समेत नयाँ लोगो राखिएको छ । एपमा समेत अपडेट गरिएको छ । एपमा पनि रातो रङलाई नै मुख्य बनाइएको छ ।
यसअघि आईएमई पेमा भएको रिवार्ड पोइन्ट र ब्यालेन्स खल्तीमा सार्न तथा अन्य सेवा सुविधाहरू अब खल्तीबाटै लिन सकिने छ । आगामी दिनमा प्रयोगकर्तालाई फिनटेक क्षेत्रमा नयाँ अनुभव प्रदान गर्ने बताइएको छ ।