कीवर्डहरू -

किङ्गस कलेज: शिक्षालाई समाज र उद्यमशीलतासँग जोड्दै

किङ्गस कलेज: शिक्षालाई समाज र उद्यमशीलतासँग जोड्दै

‘सर...यो कलेज बिक्रीमा छ, किन्नु न...’ 

सन् २०११ को कुनै एक दिन किङ्ग्स कलेजमा पढ्ने विद्यार्थीले नरोत्तम अर्याललाई भनेको वाक्य हो, यो । त्यतिबेला अर्याल किङग्स कलेजमा एमबीएका विद्यार्थीलाई पढाइरहेका थिए । 

शिक्षा क्षेत्रमा काम गर्दा उनले समाज र उद्यमशीलतासँग जोड्ने शिक्षाको आवश्यकता महसुस गरिरहेका थिए । यो खाँडललाई पूरा गर्न पूरानो कलेज किन्न खोजिरहेका थिए । किनकी त्यसबेला नयाँ कलेज स्थापना गर्न आफैमा जटिल थियो । 

त्यसपछि किङग्स कलेजमा आफ्नै विद्यार्थीले सुनाएको सन्देशले उनी सोच्न बाध्य भए । शिक्षा क्षेत्रमा देखिएको ग्यापलाई पूरा गर्ने उनको इच्छालाई सो सन्देशले ‘बल’ दियो । 

किङग्स कलेजको व्यवस्थापनसँग कुरा मिलेपछि अर्यालसँगै उनका साथी सनद न्यौपानेले किङ्ग्स कलेजको स्वामित्व लिए । सनद न्यौपानेले पनि किङ्गसमै एमबीएका विद्यार्थीलाई पढाइरहेका थिए । दुई जनाले स्वामित्व लिएर अन्य लगानीकर्ता पनि भित्र्याए । अहिले किङ्ग्स कलेज गुणस्तरीय उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाको सूचीमा आउँछ ।  

शिक्षालाई समाज र उद्यमशीलतासँग जोड्दै

किङग्स कलेज सन् २००३ मा स्थापना भएको हो । सुरूमा ए लेभलका कार्यक्रम सञ्चालन गरिरहेको कलेजले सन् २००९ देखि स्नातक र स्नातकोत्तरका कार्यक्रमको रूपमा बीबीए र एमबीए पढाउन थालेको हो । 

सुरूमा वानेश्वरमा रहेको यो कलेज अहिले बबरमहलमा छ । शिक्षा मन्त्रालयको स्वीकृतिमा अमेरिकाको वेस्टक्लिफ विश्वविद्यालयबाट सम्बन्धन लिएर स्नातक र स्नातकोत्तरका कार्यक्रम सञ्चालन गरिरहेको छ । 

सन् २०११ तिर बैंकिङ क्षेत्र लोकप्रिय थियो । त्यसबेला किङग्स कलेजका ९० प्रतिशत बढी विद्यार्थी बैंकिङमा गइरहेका थिए । त्यो एउटा गर्वको विषय पनि थियो । योसँग नरोत्तम अर्याल खासै खुसी थिएनन । ‘देशलाई बैंकर भएर मात्र भएन । धेरै स्रोत साधन र सम्भावना हुँदा हुँदै पनि हामी गरिव छौं,’ अर्याल भन्छन्, ‘हामीलाई चाहिएको उद्यमीहरू हो, जसले स्रोत साधन परिचालन गरेर भ्याल एड गर्न सकोस्, जसलाई म आन्टरप्रेनर्स क्याडर भन्थे ।’ 

समाजका तमाम समस्याहरूलाई उद्यमशीलमार्फत हल गर्ने उनको सोच थियो । यसमा उनको कुनै विज्ञता भने थिएन । तर आवश्यकता पहिचान भएपछि सन् २०१२ मा कलेजले ‘एमबीए आन्टरप्रेनरसीप’ कोर्ष सुरू गर्‍यो । अनि, उद्यमशीलतामार्फत समाजको रूपान्तरण गर्ने मिसनसहित किङ्गस कलेज अगाडि बढिरहेको छ भने शिक्षालाई समाज (समुदाय) र उद्यमशीलतासँग जोड्ने काम गरिरहेको छ ।

हाल किङ्ग्स कलेजले स्नातक तहमा आईटीमा बीएसआईटी, बीएस कम्प्युटर साइन्स, फिनटेक, डिजिटल मार्केटिङ जस्ता कोर्ष अध्ययन गराइरहेको छ भने स्नातकोत्तरमा एमबीएमा टेक एण्ड इन्नोभेसन, डेटा एनालाइटिक्स, एआई कोर्षहरू अध्ययन गराइरहेको छ । अन्य केही नयाँ कोर्षहरू पनि पाइपलाइनमा रहेका छन् ।

कोर्ष अनुसार शुल्क फरक फरक भए पनि सामान्यतयाः कलेज र विश्वविद्यालय लिने शुल्क गरेर ९-१० लाख रूपैयाँबाट सुरू हुन्छ । किङ्ग्स कलेजमा ३ घण्टाको परीक्षा हुँदैन् । निरन्तर मूल्यांकन प्रणाली लागु गरिएको छ । यो प्रणाली लागु गर्दा सुरूमा ‘किङ्ग्समा परीक्षा नै हुँदैन् । सजिलै जो पनि पास हुन्छन्’ भनेर आलोचना भए पनि विस्तारै सबैले यसको महत्त्व बुझ्दै गएका छन् ।

यस्तै, किङ्ग्सले धेरै वर्षअघि नै लर्निङ म्यानेजमेन्ट सिस्टम (LMS) अपनाएको थियो । ‘अनलाइनबाट पढाउँछ, त्यस्तोमा पढेर के हुन्छ? जो पनि पास हुन्छ, पढ्नै पर्दैन्,’ भनेर आलोचना हुने गरेको अर्याल सुनाउँछन् । 

तर कोभिड–१९ महामारीपछि अन्य विद्यालय/कलेजले पनि यसैलाई प्रयोग गर्न थाले । त्यसपछि मात्र सबैलाई यसको मूल्य थाहा भयो ।

अर्को कुरा किङ्ग्समा पढ्नलाई राम्रो अंक पनि ल्याउनु पर्दैन् । अघिल्लो कक्षामा पास मात्रै भए पुग्छ । ‘हाम्रोमा पढ्नलाई यति ग्रेड आएको हुनुपर्ने, यति प्रतिशत आएको हुनुपर्ने, अंग्रेजी राम्रो हुनुपर्ने केही मापदण्ड छैन्,’ अर्यालले भने, ‘हिजोले भोलिलाई सधैं परिभाषित गर्न मिल्छ ? पास भएपछि कम्तिमा अप्लाई त गर्न पाउनु पर्‍यो नि, विद्यार्थीले ।’

सबै व्यक्ति पढाइमा राम्रो हुन्छन् भन्ने छैन् । सबैको क्षमता फरक फरक हुन्छ । कुनै व्यक्ति राम्रो कलाकार, सामाजिक अभियान्ता वा उद्यमी हुन सक्छ । कसैले नेपाली राम्रो हुन सक्छ । कसैको अंग्रेजी राम्रो हुन सक्छ । 

‘अंग्रेजी राम्रो छैन् भन्दैमा किन दण्डित गर्ने ? त्यसो भए जापानीज, चाइनिज, जर्मनीजले पढ्नै नपाउनु पर्ने हो ? केही गर्ने नसक्नु पर्ने हो ?’, अर्याल अगाडि थप्छन्, ‘सबैको क्षमताको कदर गर्नुपर्छ । सुरूमै ग्रेड वा अंक राम्रो नभएकै कारण पढ्नबाट बञ्चित गर्नु हुँदैन् ।’

शिक्षामा सुधारको खाँचो

अहिले पनि अधिकांश शिक्षाको प्याटर्न उस्तै छ । किताब छन्, शिक्षक छन्, विद्यार्थी छन् । शिक्षक आएर किताब अनुसार पढाउनु हुन्छ । परीक्षा हुन्छ । परीक्षामा यस्तो यस्तो आउन सक्छ र यस्तो हुन्छ भनेर अनुमान गर्न सकिन्छ । यसलाई अर्यालले ‘बुकदेखि मार्क्ससम्मको यात्रा’ भन्छन्  ।

‘यो शिक्षाको सानो डायमेन्सन मात्रै हो । पूर्ण शिक्षा हुनलाई अनुभव, सोचाइ व्यावहारिक प्रयोग, रिड एण्ड राइट पनि हुनुपर्छ,’ उनले आइसिटी समाचारसँग भने, ‘हाम्रो शिक्षामा सोचाइ र गराइ छैन् ।’ 

विद्यालयहरूले ग्रेड धेरै आउने विद्यार्थीको फोटो टास्नेदेखि पत्रिकामा विज्ञापन निकाल्नेसम्म गर्दै आएका छन् । ‘मार्क्स’ ल्याउनु नराम्रो नभएपनि सबै चिजको सेलिब्रेट गर्नुपर्ने उनको धारणा छ ।
उनी भन्छन्, ‘राम्रो खेल खेल्ने, राम्रो गिटार बजाउने, राम्रो समाजसेवा गर्ने, राम्रो उद्यमी सबैको फोटो सेलिब्रेट गर्नुपर्छ ।’

अबको शिक्षा उद्यमशील सोच विकास गर्ने शिक्षा हुनुपर्ने उनको भनाइ छ । ‘शिक्षा मात्रै उद्यममैत्री नभएर पाठ्यक्रम, पढाउने तरिका र मूल्यांकन गर्ने तरिका नै उद्यमशीलता केन्द्रित हुनुपर्छ,’ अर्यालले अगाडि भने, ‘तब मात्र शिक्षाको माध्यमबाट उद्यमशीलता प्रवर्द्न गर्न सकिन्छ ।’ 

‘शिक्षा पवित्र क्षेत्र हो’

नरोत्तम अर्यालका लागि शिक्षा पवित्र क्षेत्र हो । ज्ञान दिने र मानिसहरूलाई केही गर्नका लागि सक्षम बनाउने भनेकै शिक्षा हो । त्यसैले शिक्षामा ‘इन्टिग्रिटी र प्योरिटी’ हुनुपर्ने उनको तर्क छ ।

सार्वजनिक रूपमा आफ्नो र किङ्गस कलेजको बखान नगर्ने ‘कसम’ नै खाएका छन् । त्यसैले होला, अरूभन्दा किङ्ग्स कलेज कसरी फरक छ ? किन राम्रो छ ? भन्ने प्रश्नको जवाफ नै दिएनन् । 

अर्याल भन्छन् - ‘यो भन्दा यो राम्रो’ भन्ने बसहमा कहिल्यै लागिन । मलाई लाग्नु पनि छैन् । मेरो लागि शिक्षा पवित्र क्षेत्र हो । शिक्षा गुणस्तरीय, समाजसँग जोडिएको र मानिसको सर्वाङ्गीन विकासमा केन्द्रित भएको हुनुपर्छ । 

हामीहरू एकअर्कालाई हिलो छ्यापेर कस्तो खालको संस्कार विकास गर्दै छौं ? विद्यार्थी र नयाँ पिढीलाई कस्तो खालको सन्देश दिइरहेका छौं ? उनको प्रश्न छ । 

अहिले किङग्स कलेजले सिकाइमा नयाँ मोडलको विकास गरेको छ । किङ्ग्सबाट उत्तीर्ण हुने विद्यार्थीमा आफुलाई चिनेको, समाज र परिवेश बुझेको, सीप र ज्ञान सिकेको तथा उद्यमशील सोच बोकेको विशेषता हुनुपर्छ । यी ४ वटा मध्ये कुनै पनि कुरा मिस हुँदा शिक्षा पूर्ण भएको जस्तो नलाग्ने अर्याल बताउँछन् । 

नेपालको शिक्षाले नेपाललाई राम्रोसँग बुझाउन नसक्ने उनले बताए । ‘अहिले हामी धेरै विद्यार्थी विदेश भएको सुन्छौं । बाहिर जानु सही र गलत भन्दा पनि आफ्नै देशको माटो, सस्कृति, इतिहास र सम्भावना पहिला बुझौं । त्यसपछि जहाँ बसेपनि हुन्छ । किनभने हाम्रो शिक्षाले त्यो बुझाएको छैन्,’ उनले अगाडि भने ।

शिक्षा: नाफामूलक वा गैरनाफामूलक 

केही समययता विद्यालय शिक्षा नाफामूलक हुने कि गैरनाफामूलक हुने भन्ने विषयमा चर्को बहस भइरहेको छ । निजी लगानीका विद्यालय ‘क्रमश: गैरनाफामूलक हुने’ गरी विद्यालय शिक्षा विधेयकमा गरिएको व्यवस्थाको विरोधमा निजी लगानीका विद्यालय सञ्चालकहरूको संस्थाहरू प्याब्सन, नेसनल प्याब्सन, हिसान र अपेनले आन्दोलन गरिरहेका छन् । 

अर्यालको व्यक्तिगत सोच पनि शिक्षा गैरनाफामुलक हुनुपर्छ भन्ने हो । तर जबरजस्ती गैरनाफामुलक बनाउनु भन्दा नियमन र सुशासनलाई बलियो बनाउनु पर्ने उनको तर्क छ । 

अहिले पनि अधिकांश विद्यार्थीको पहिलो रोजाइ पुलचोक क्याम्पस, चिकित्सा अध्ययन संस्थान (आईओएम), बुढानिलकण्ठ स्कुल जस्ता सरकारी संस्था हुने गरेको छ । यी संस्थाहरूमा भर्ना नभएपछि मात्र विद्यार्थी अन्यत्र जान्छन् ।

यी उदाहरण हुँदा हुँदै निजीले गर्दा सार्वजनिक बिग्रिएको भन्नु उपयुक्त नहुने अर्यालले बताए ।  उनी अगाडि भन्छन, ‘निजी वा सरकारीमा कहाँ पढ्ने त्यो व्यक्तिको छनौट हो । नेपालबाटै करौडौ तिरेर विदेश पढ्न जाने पनि छन् । पैसा हुनेले पठाउँछन् । क-कसलाई छेकेर बस्ने ? त्यहाँ करोड रकम तिर्दा समस्या छैन् । यहाँ तिर्दा चाँहि समस्या छ ।’

किङ्ग्स कलेजको अध्यक्ष तथा प्रिन्सीपल हुन नरोत्तम अर्याल । शिक्षा गैरनाफामुलक हुनुपर्छ भन्ने उनको मान्यता छ । तर किङ्ग्स कलेज गैरनाफामुलक होइन । तपाईहरूको जस्तै हामीलाई पनि यो प्रश्न आएको थियो । त्यसैकारण हामीले अर्याललाई सोध्यौं - शिक्षा गैरनाफामुलक हुनुपर्छ भन्ने तपाईको कलेज नै किन गैरनाफामुलक छैन् ? 

यस प्रश्नको जवाफ दिदै उनले भने – ‘किङ्गस कलेजलाई धेरै वर्षदेखि नै गैर नाफामुलकमा लैजान खोजेको हो । एकटपक नाफामुलक भएपछि त्यसलाई गैरनाफामुलक बनाउन नमिल्ने रहेछ । यसलाई कोल्याप्स गरेर अर्को कम्पनिमा ट्रान्सफर गर्न भने सकिन्छ । त्यसमा जोखिम पनि छ ।’

त्यसैले गर्दा अर्यालको समूहले ‘नेपाल कम्युनिभर्सिटी’ भन्ने गैरनाफामुलक संस्था सुरू गरेको छ । यसमार्फत सिकाइलाई समुदाय, शैक्षिक संस्था, उद्योग र राज्यलाई जोड्ने काम थालिएको छ ।

‘शिक्षालाई राजनीति र पैसाले ड्राइभ गर्नु हुँदैन,’ अर्याल अन्तिममा भन्छन्, ‘शिक्षक वा एजुकेटरको प्यासन नै विद्यार्थीको ग्रोथ र समाजसँगको सहकार्य हुनुपर्छ । अन्य कुनै पनि इन्ट्रेष्ट हुनुहुँदैन् ।’