कीवर्डहरू -

अमेरिकामा नदेखिएको संघर्षबाट जन्मिएको अंग्रेजी सिकाउने ‘भाषा एप’, जित्यो २१ लाख पुरस्कार

अमेरिकामा नदेखिएको संघर्षबाट जन्मिएको अंग्रेजी सिकाउने ‘भाषा एप’, जित्यो २१ लाख पुरस्कार

टाढाबाट हेर्दा अमेरिका अवसरको देश जस्तो देखिन्छ। तर त्यहीँ पुगेर हेर्दा, धेरै आप्रवासीका लागि अवसरभन्दा अघि ‘भाषा’ नै ठूलो पर्खाल बनेर उभिएको हुन्छ।

अमेरिका पुगेर पनि अंग्रेजी भाषा राम्रो नहुँदा धेरै नेपालीहरू रोजगारी, स्वास्थ्य सेवा, शिक्षा र दैनिक जीवनका अवसरबाट बञ्चित हुनुपरेका घटना थुप्रै छन्। यही यथार्थलाई नजिकबाट देखेपछि ललितपुरकी श्रद्धा खड्काले समाधान खोज्ने यात्रा सुरु गरिन्।

सन् २०२२ मा उच्च शिक्षाका लागि अमेरिका पुगेकी श्रद्धा केही समय न्यूयोर्कमा एक नेपाली आप्रवासी परिवारसँग बसेकी थिइन्। एकदिन उनले सामान्य जस्तो लाग्ने प्रश्न सोधिन्— ‘घरमा को–को हुनुहुन्छ?’ 

जवाफ आयो, ‘श्रीमान् रेस्टुरेन्टमा कुक हुनुहुन्छ, म काम खोज्दै छु। नानीको काम थियो, तर अंग्रेजी नआएर पाइनँ।’ त्यो संवाद सामान्य थियो, तर त्यसले श्रद्धाको मनमा गहिरो छाप छोड्यो। त्यसपछि यस्ता कथाहरू एकपछि अर्को आउन थाले।

कसैले अस्पतालमा डाक्टरलाई आफ्नो बच्चाको लक्षण बुझाउन नसकेको पीडा सुनाए। कसैले गाडी दुर्घटनापछि प्रहरीसँग आफ्नो पक्ष राख्न नसकेको गुनासो गरे। कसैले म्यानेजर बन्ने अवसर अस्वीकार गर्नुपरेको अनुभव बाँडे। समस्याको जड एउटै थियो— अंग्रेजी भाषा नआउनु।

श्रद्धाले यसलाई चुनौतीको रूपमा लिइन्। सुरुमा सामाजिक सञ्जालमार्फत प्रयास थालिन्। ‘अंग्रेजी सिक्न मन छ भने सम्पर्क गर्नुहोस्’ भन्ने सन्देशसहित टिकटकमा भिडियो पोस्ट गरिन्। भिडियो भाइरल भयो र अंग्रेजी सिक्न चाहन्छु भन्ने म्यासेजले इन्बक्स भरियो। 

अनि, उनले वर्तमान, भूत र भविष्य कालका सरल अभ्यासहरूसहित ५० दिने अभ्यास पुस्तक तयार गरिन् र नियमित अनलाइन कक्षा सञ्चालन गर्न थालिन्। धेरैले अंग्रेजी सिके, आत्मविश्वास बढाए। तर विश्वभर छरिएका नेपालीहरूलाई एउटै समयमा सिकाउन सम्भव थिएन— समय ठाउँ अनुसार फरक–फरक थिए। उनलाई लाग्यो एप भएको भए यो समस्या पनि हुने थिएन । 

त्यसपछि उनले प्रविधिमार्फत समाधान खोज्ने निर्णय गरिन्। ‘बजारमा धेरै भाषा सिकाउने एप थिए, तर नेपाली भाषीका लागि लक्षित अंग्रेजी सिकाइ एप थिएन,’ उनी भन्छिन्। 

त्यसपछि श्रद्धा खड्का, कृष्ण खड्का र प्रशिद्धा थापाले मिलेर एप विकास सुरु गरे। सन् २०२४ अप्रिल/मेबाट सुरु भएको विकास यात्रा डिसेम्बरमा पूरा भयो र ३१ डिसेम्बर २०२४ मा भाषा औपचारिक रूपमा सार्वजनिक भयो।

null

सार्वजनिक भएको छोटो समयमै भाषा एप १०० भन्दा बढी देशमा प्रयोग हुन थालिसकेको छ। ५५ हजारभन्दा बढी डाउनलोड र ३ करोडभन्दा बढी लर्निङ इन्टर्याक्सन हासिल भइसकेको छ। एआई पनि प्रयोग गरिएको यस एपले प्रयोगकर्तालाई आफ्नै स्तर र गतिमा सिक्ने सुविधा दिन्छ। एप एन्ड्रोइडआईओएस दुवैमा चलाउन सकिन्छ ।

श्रद्धाका अनुसार अब यो एप केवल नेपालीका लागि सीमित नरही अन्य भाषी समुदायलाई पनि अंग्रेजी सिकाउने लक्ष्यसहित नयाँ भाषाहरू थप्ने तयारीमा छ।

यसबीच, भाषा एपले अन्तर्राष्ट्रिय मञ्चमा पनि सफलता हात पारेको छ। अमेरिकाको टेक्सासस्थित University of Texas at Arlington मा आयोजित ‘MavPitch’ प्रतिस्पर्धामा सहभागी हुँदै एपले १५ हजार अमेरिकी डलर (करिब २१ लाख रुपैयाँभन्दा बढी) नगद पुरस्कार जितेको हो।

‘यो केवल एप होइन, आत्मविश्वासको माध्यम हो,’ श्रद्धा भन्छिन्। अमेरिकामा नदेखिएको संघर्षबाट सुरु भएको अंग्रेजी सिकाउने यात्रा आज विश्वका विभिन्न देशमा बसेका नेपाली तथा अन्य समुदायका लागि सिकाइको सहयात्री बनेको छ। 

null