मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय (MBUST) ले विभिन्न पदहरूमा दरखास्त आह्वान गरेको छ ।
विश्वविद्यालयले कृत्रिम बौद्धिकता, डेटा विज्ञान, मेशिन लर्निङ, आईओटी, एनएलपी लगायत समसामयिक प्रविधिका क्षेत्रमा विशेषज्ञता भएका योग्य, अनुभवी र अनुसन्धानमुखी नेपाली तथा विदेशी नागरिकहरूलाई आवेदन दिन आह्वान गरेको हो ।
यी क्षेत्रमा विशेषज्ञता भएका योग्य व्यक्तिले प्राध्यापक, एशोशिएट प्राध्यापक र सह-प्राध्यापक पदमा दरखास्त दिन सक्ने छन् । महिला तथा पछाडि पारिएका समुदायका उम्मेदवारहरूलाई आवेदन दिन विशेष प्रोत्साहन गरिएको छ । साथै सम्बन्धित विषयमा पीएचडी भएका उम्मेदवारलाई प्राथमिकता दिइने विश्वविद्यालयले जनाएको छ ।
इच्छुक व्यक्तिले [email protected] मा निवेदन, सीभी, पीएचडीमा गरेको अनुसन्धान क्षेत्र, विश्वविद्यालय र राष्ट्रका लागि आफूले पुर्याउन सक्ने योगदानबारे १ हजार शब्दसम्मको निबन्ध, अनुसन्धान पेपरको लिंक पठाउनु पर्नेछ ।
यस बाहेक शिक्षण अनुभव, पीएचडीमा सुपरभाइज गरेको विद्यार्थीहरूको सूची र योगदान, अनुदान (राशि र एजेन्सीसहित), पेटेन्ट भए त्यसको सूची र तीनजना सिफारिसकर्ताको नाम र सम्पर्क विवरण (सीधा पर्यवेक्षण गरेका हुनुपर्ने) पनि आवेदनमा पेश गर्नुपर्नेछ । पदपुर्ती नभएसम्म आवेदन दिन सकिने छ ।
२०७९ सालमा स्थापना भएको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय नेपालको पहिलो स्वायत्त अनुसन्धानमुखी विश्वविद्यालय हो, जसले विश्वस्तरीय शैक्षिक संस्था बन्ने लक्ष्य राखेको छ । चितलाङमा रहेको विश्वविद्यालयले अनुसन्धान, नवप्रवर्तन, र उद्योगसँगको सहकार्यलाई आफ्नो प्रमुख प्राथमिकता मानेको छ ।