कीवर्डहरू -

आइतबार मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको पहिलो दीक्षान्त समारोह हुँदै

आइतबार मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको पहिलो दीक्षान्त समारोह हुँदै

नेपालमा विश्वस्तरीय विश्वविद्यालय निर्माण गर्ने उद्देश्यसहित विसं २०७९ मा स्थापना भएको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय (एम्बस्ट) ले आफ्नो पहिलो दीक्षान्त समारोह यही माघ २५ गते आयोजना गर्ने भएको छ। चित्लाङस्थित विश्वविद्यालयको आफ्नै परिसरमा आयोजना हुने दीक्षान्त समारोहमा विश्वविख्यात शिक्षाविद् तथा वैज्ञानिकहरूको सहभागिता रहनेछ।

समारोहका प्रमुख अतिथि उच्च शिक्षाका अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विज्ञ डा. जमिल साल्मी रहनेछन्। उनले विश्व बैंकको उच्च शिक्षा संयोजक, चिलीको डिएगो पोर्टल्स विश्वविद्यालयमा उच्च शिक्षा नीतिका प्राध्यापक तथा अमेरिकाको बोस्टन कलेजस्थित अन्तर्राष्ट्रिय उच्च शिक्षा केन्द्रमा अनुसन्धान फेलोका रूपमा चार दशकभन्दा लामो अनुभव हासिल गरेका छन्।

समारोहका विशेष अतिथिका रूपमा क्यानडाकी प्राध्यापक सुजन फोर्टियर र सिंगापुरका प्राध्यापक सीराम रामकृष्ण सहभागी हुनेछन्। म्याकगिल विश्वविद्यालयकी उपकुलपति तथा क्यानडाको प्राकृतिक विज्ञान तथा इन्जिनियरिङ अनुसन्धान परिषद्की अध्यक्ष रहिसकेकी प्रा. फोर्टियर अनुसन्धान र नवप्रवर्तनमा योगदानका लागि परिचित छिन्।

त्यस्तै, इलेक्ट्रोस्पिनिङ र न्यानोप्रविधिका अग्रणी वैज्ञानिक प्रा. रामकृष्ण हाल चीनको सिंह्वा विश्वविद्यालयका चेयर प्रोफेसर तथा चिनियाँ विज्ञान प्रतिष्ठान (कास) का प्राज्ञ छन्। उनीहरू दुवै एम्बस्टको बोर्ड अफ ट्रस्टीजका सदस्यसमेत हुन्।

दीक्षान्त समारोहको सभापतित्व विश्वविद्यालय बोर्ड अफ ट्रस्टीजका अध्यक्ष पद्म ज्योतिले गर्नेछन्। संविधान सभाका सदस्य रहनु भएका ज्योती व्यापार तथा औद्योगिक क्षेत्रका अग्रणी व्यक्तित्वका रूपमा चिनिन्छन्।

कार्यक्रममा विश्वविद्यालयका अध्यक्ष (प्रेसिडेन्ट) डा. राजेन्द्रध्वज जोशीले स्वागत मन्तव्य दिनेछन्। त्रिभुवन विश्वविद्यालय अन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थानमा प्राध्यापक तथा डीनको जिम्मेवारी सम्हालिसकेका डा. जोशीले विश्व बैंक र यूएनडीपीमा शिक्षाविद् तथा वरिष्ठ सल्लाहकारका रूपमा लामो समय काम गरेका छन्।

एम्बस्टले समृद्ध र न्यायपूर्ण नेपालको अभियानसँग सहकार्य गर्दै देशमा विश्वस्तरीय उच्च शिक्षा र उत्कृष्टता केन्द्र विकास गर्ने लक्ष्यसहित अघि बढिरहेको जनाएको छ। विश्वविद्यालयमा हाल जैविक कृषि, वन्य जैविक स्रोत, दिगो तथा उत्थानशील पूर्वाधार, कृत्रिम बुद्धिमत्ता तथा तथ्यांक विज्ञान विषयमा स्नातकोत्तर र विद्यावारिधि कार्यक्रम सञ्चालनमा छन्। हाल ६६ जना विद्यार्थी अनुसन्धानरत छन् भने यस वर्ष तीन जना विद्यार्थी दीक्षित हुनेछन्।

दीक्षान्त समारोह माघ २५, २०८२ (फेब्रुअरी ८, २०२६) आइतबार बिहान १०:३० बजेदेखि अपराह्न ५ बजेसम्म चित्लाङस्थित मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय परिसरमा हुनेछ।

दीक्षान्त समारोहको अवसरमा दुई अतिरिक्त कार्यक्रम पनि आयोजना गरिनेछन्। माघ २४ गते नेपाली उद्योग परिसंघसँगको सहकार्यमा ‘विश्वविद्यालय अनुसन्धानद्वारा आर्थिक वृद्धिको इन्धन’ विषयक गोलमेच सम्मेलन आयोजना हुने जनाइएको छ। त्यसैगरी, माघ २६ गते ‘नेपालमा विश्वस्तरीय विश्वविद्यालय’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरिनेछ।