मेटाले भ्वाइस क्लोनिङ सेवा प्रदान गर्ने स्टार्टअप प्ले एआई खरिद गरेको छ । ब्लूमबर्गको रिपोर्ट अनुसार, मेटाले सम्झौता अन्तिम चरणमा पुर्याइसकेको छ र प्लेएआईको पूरै टोली आगामी साता मेटामा आबद्ध हुँदैछ ।
सो टोलीले गुगल स्पीच एआईका पूर्वप्रमुख तथा हालै मेटामा आवद्ध भएका जोहन शाल्कविकको नेतृत्वमा काम गर्नेछ । प्लेएआईले प्रयोगकर्ताको आवाजलाई सटीक रूपमा क्लोन गर्न सक्छ र नयाँ, मानव-जस्तै आवाजहरू सिर्जना गर्न सक्छ, जुन वेबसाइट, एप्स र स्मार्टफोनहरूमा प्रयोग गर्न सकिन्छ ।
मेटाले यस प्रविधिलाई मेटा एआई, एआई क्यारेक्टर्स तथा वेरेबल्सहरू जस्ता उत्पादनहरूसँग मिल्दोजुल्दो हुने बताएको छ । मेटाले ब्लूमबर्गसँग उक्त खरिदको पुष्टि गरे पनि खरिद मूल्य भने सार्वजनिक गरेको छैन ।
मेटाका सीईओ मार्क जुकरबर्ग हाल एआई क्षेत्रमा ठूलो लगानीका साथ अगाडि बढिरहेका छन् । मेटाले अहिले मानवभन्दा स्मार्ट एआई विकास गर्ने लक्ष्यसहित एआई सुपर इन्टेलिजेन्स ल्याब निर्माण गरिरहेको छ।
यसै अभियानको भागस्वरूप, मेटाले स्केल एआईमा १४.३ अर्ब अमेरिकी डलर लगानी गर्दै सो कम्पनीका सीईओ अलेक्जेन्द्र वाङलाई पनि भर्ना गरेको छ ।
वाङले मेटाको नयाँ एआई प्रयोगशालाका प्रमुखको रूपमा कार्यभार सम्हाल्नेछन् । स्केल एआईले एआई मोडलहरूलाई तालिम दिन आवश्यक डेटा लेबल गर्ने सेवा प्रदान गर्दै आएको कम्पनी हो ।
मेटाले प्रतिस्पर्धी कम्पनीहरूबाट विज्ञहरू तान्नका लागि आकर्षक प्रस्तावहरू गरिरहेको छ । रोयटर्सका अनुसार, मेटाले केही कर्मचारीलाई १० करोड अमेरिकी डलरसम्मको बोनस प्रस्ताव गरिसकेको छ । मेटाले हालसम्म ओपन एआई, गूगल, एप्पलमा काम गर्ने विज्ञहरूलाई समेत भर्ना गरिसकेको छ ।