कीवर्डहरू -

सामाजिक सञ्जाल लत नभएको मेटाको दाबी, दुई ठूला मुद्दा अदालतमा

सामाजिक सञ्जाल लत नभएको मेटाको दाबी, दुई ठूला मुद्दा अदालतमा

अमेरिकाको प्रविधि कम्पनी मेटा विरुद्ध सामाजिक सञ्जाल लत र बाल शोषणसम्बन्धी दुई ठूला मुद्दा अदालतमा विचाराधीन छन्। न्यू मेक्सिको र लस एन्जलसमा चलिरहेका यी मुद्दाहरूमा कम्पनीका प्लेटफर्महरूले बालबालिका तथा किशोर–किशोरीमा नकारात्मक प्रभाव पारेको आरोप लगाइएको छ।

न्यू मेक्सिकोका महान्यायाधिवक्ताले मेटाले आफ्ना सामाजिक सञ्जालमार्फत बाल शोषणलाई सहज बनाएको तथा प्रयोगकर्तालाई लामो समयसम्म बाँधेर राख्ने प्रकारका संरचना र विशेषताका कारण बालबालिकालाई हानि पुर्‍याएको आरोप लगाएका छन्।

सुरुआती बहसका क्रममा कम्पनीका पक्षका वकिलले सामाजिक सञ्जाललाई औपचारिक रूपमा ‘लत’ मान्न नसकिने दाबी गरे। उनका अनुसार मानसिक रोगसम्बन्धी आधिकारिक निदान पुस्तिकामा सामाजिक सञ्जाल लतलाई छुट्टै मानसिक रोगको रूपमा सूचीबद्ध गरिएको छैन।

लस एन्जलसमा दायर अर्को मुद्दामा एक महिलाले मेटा र अन्य सामाजिक सञ्जाल कम्पनीका लत लाग्ने संरचनात्मक विशेषताका कारण आफू मानसिक रूपमा प्रभावित भएको दाबी गरेकी छन्।

सुनुवाइका क्रममा इन्स्टाग्राम प्रमुख एडम मोसेरीले सामाजिक सञ्जाल चिकित्सकीय रूपमा लत लाग्ने किसिमको नभएको बताए। उनले यसलाई मनोरञ्जन सामग्रीप्रति अत्यधिक आकर्षणजस्तै अवस्थासँग तुलना गरे।

अमेरिकी मनोचिकित्सक संघले भने सामाजिक सञ्जाल लतको अवधारणा अस्तित्वमा छैन भनेर आफूले कहिल्यै नभनेको स्पष्ट पारेको छ। संघका अनुसार हाल उक्त अवस्थालाई औपचारिक निदानको रूपमा सूचीबद्ध नगरिएको भए पनि त्यसले सम्भावित प्रभावलाई अस्वीकार गर्दैन।

अनुसन्धानकर्ताहरूका अनुसार कुनै व्यवहार औपचारिक रूपमा वर्गीकृत नभए पनि त्यसले व्यक्तिको मानसिक अवस्था, व्यवहार र दैनिक जीवनमा गम्भीर असर पार्न सक्छ।

न्यू मेक्सिकोमा पूर्वकर्मचारी तथा सूचनाप्रदाता आर्टुरो बेजार र पूर्व कार्यकारी ब्रायन बोल्यान्डले कम्पनीले सुरक्षालाई पर्याप्त प्राथमिकता नदिएको बताएका छन्।

लस एन्जलसमा मेटाका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्ग आगामी साता अदालतमा बयान दिन उपस्थित हुने अपेक्षा गरिएको छ।

मुद्दामा कम्पनीका आन्तरिक कागजातहरू समेत प्रस्तुत गरिने बताइएको छ, जसमा युवापुस्तामा सामाजिक सञ्जालको मानसिक स्वास्थ्य प्रभावसम्बन्धी अनुसन्धानका विवरणहरू समावेश हुनेछन्।

यी दुई मुद्दा आगामी केही सातासम्म चल्ने अनुमान गरिएको छ। साथै, विभिन्न राज्यका महान्यायाधिवक्ताहरूबाट दायर अन्य मुद्दाहरू पनि मेटाले सामना गर्नुपर्ने अवस्था रहेको छ।