कीवर्डहरू -

माइकल फोले एनसेलको नयाँ सीईओ नियुक्त, कम्पनीले रूपान्तरण र डिजिटल लक्ष्यमा जोड दिने

माइकल फोले एनसेलको नयाँ सीईओ नियुक्त, कम्पनीले रूपान्तरण र डिजिटल लक्ष्यमा जोड दिने

एनसेलले माइकल फोलेलाई नयाँ प्रमुख कार्यकारी अधिकारी (CEO) का रूपमा नियुक्त गरेको घोषणा गरेको छ, जुन नियुक्ति १ नोभेम्बर २०२५ देखि लागू हुनेछ।

फोलेले कार्यवाहक सीईओको जिम्मेवारी सम्हालेका सैयद एमडी इनामुल कबिरलाई पदबाट प्रतिस्थापन गरेका छन्। कबिर कम्पनीमा प्रमुख वित्तीय अधिकृत (CFO) को भूमिका जारी राख्नेछन्।

टेलिकम उद्योगमा २० वर्षभन्दा बढीको वरिष्ठ नेतृत्व अनुभव राख्ने माइकल फोलेसँग सो क्षेत्रका केही प्रमुख कम्पनीहरूमा सफल नेतृत्व गरेको प्रमाण छ। एनसेलमा आवद्ध हुनुभन्दा पहिले फोले एयरटेलका फ्रेन्च अफ्रिका विभागको नेतृत्वकर्ता (Head of French Africa)का रूपमाअपरेसन हेर्ने पदमा थिए। त्यसअघि उनी टेलेनोर पाकिस्तानका सीईओ रहेका थिए जहाँ उनले चुनौतीपूर्ण व्यापारिक परिवेशमा कम्पनीलाई नेतृत्व गरी बजारमा उल्लेखनीय वृद्धि, नाफा र कर्मचारी सन्तुष्टि हासिल गराएका थिए।

उनका नेतृत्व भूमिकामा ग्रामीनफोन (बंगलादेश) र टेलेनोर बुल्गेरियाका सीईओको अनुभव समावेश छ, जहाँ उनले उल्लेखनीय व्यापारिक रुपान्तरण गरि ग्राहक संख्यालाई ७० मिलियनभन्दा बढीसम्म विस्तार गर्न र EBITDA लाई ६० प्रतिशत भन्दा बढी पुर्‍याउन सफल भएका थिए। फोलेले तामीर माइक्रो-फाइनान्स (हालको इजीपैसा, पाकिस्तान) का अध्यक्ष, टेलेनोर हेल्थका अध्यक्षका रूपमा पनि सेवा दिएर लगत्तै हाल WATU DRC SA (आफ्रिकाको प्रमुख एसेट माइक्रो-फाइनान्स कम्पनी WATU को एउटा विभाग) का अध्यक्षको पदसमेत सम्हालिरहेका छन्।

नियुक्ति सम्बन्धमा फोलेले भने, “म काठमाडौंमा यो जिम्मेवारी बहन गर्न पाउँदा अत्यन्तै खुशी छु। एनसेल देशको एक महत्वपूर्ण पूर्वाधार प्रदायक हो र डिजिटल रुपान्तरण अघि बढाउन, आर्थिक प्रतिस्पर्धात्मकता सुधार्न र वैदेशिक लगानी आकर्षित गर्न ठूलो सम्भावना बोकेको छ—यसैसँग जनताका लागि नयाँ अवसरहरू सिर्जना गर्ने क्षमता पनि छ। आजको डिजिटल, एआई-सञ्चालित र सामाजिक सञ्जालप्रधान युगमा टेलिकम कम्पनीहरू केवल सेवा प्रदायक मात्र होइनन्, हामीले समाजको डिजिटल धागो बुन्दै आएका छौं। हामी आधुनिक अर्थतन्त्रको सञ्चालन प्रणाली बनेका छौं। राष्ट्रलाई सेवा दिलाउने, हाम्रा सेवाहरू सुधार्ने र, सबैभन्दा महत्वपूण: आगामी पुस्तालाई सशक्त बनाउने काम गर्दा यी महत्त्वपूर्ण सम्पत्तिहरूलाई जिम्मेवारीपूर्वक सम्हाल्नु आवश्यक छ।”

एनसेलका निर्देशक मण्डलले फोलेको नियुक्तिप्रति गहिरो विश्वास व्यक्त गर्दै भने, “हामी माइकललाई यो महत्वपूर्ण नेतृत्व भूमिकामा काठमाडौंमा स्वागत गर्दै धेरै खुसी छौं। उनको व्यापक अनुभव र रणनीतिक दृष्टिविहीन एनसेलको रूपान्तरणलाई मार्गदर्शन गर्न र समुदायप्रति हाम्रो प्रतिबद्धता बलियो बनाइराख्न अत्यन्तै महत्वपूर्ण हुने छन्।”

फोले म्याकगिल विश्वविद्यालयका स्नातक हुन् र INSEAD बाट ग्लोबल म्यानेजमेन्ट तथा गभर्नेन्समा कार्यकारी प्रमाणपत्र प्राप्त गरेका छन्। उनले क्यानाडाली-केन्याली दोहोरो नागरिकता राख्छन् ।