यदि तपाईं माइक्रोसफ्ट एज प्रयोगकर्ता हुनुहुन्छ भने, अब तपाईंको वेब ब्राउजिङ अनुभव झनै छरितो र प्रभावकारी हुने भएको छ । माइक्रोसफ्टका अनुसार, पछिल्ला केही महिनायता एज ब्राउजरको यूआई लोड समय औसतमा ४० प्रतिशतले घटाइएको छ ।
कम्पनीले ब्राउजरको गति मापन गर्न फर्स्ट कन्टेन्टफुल पेन्ट (FCP) नामक मेट्रिक प्रयोग गरेको छ, जसले ब्राउजरका विभिन्न फिचरहरू पहिलो पटक दृश्यमा देखिन कति समय लाग्छ भन्ने ट्र्याक गर्छ ।
अहिले एजमा FCP ३०० मिलिसेकेन्डभन्दा कम रहेको छ, जुन विश्वस्तरीय प्रदर्शन मापदण्डसँग मेल खाने उपलब्धि हो ।
‘३०० देखि ४०० मिलिसेकेन्डभन्दा ढिला भए प्रयोगकर्ता सन्तुष्टि घट्ने देखिएकोले हामीले यो सीमाभित्र ल्याउने लक्ष्य राखेका थियौं,’ माइक्रोसफ्टले भनेको छ।
यस प्रदर्शन सुधारले सेटिङ्स, रिड अलाउड, स्प्लिट स्क्रिन, र वर्कस्पेसेस जस्ता १३ प्रमुख ब्राउजर सुविधाहरूमा प्रत्यक्ष असर पुर्याएको छ । उदाहरणस्वरूप, सेटिङ्स पेज पहिले लोड हुन ३९४ मिलिसेकेन्ड लाग्थ्यो भने अहिले मात्र ९४ मिलिसेकेन्डमा लोड हुन्छ—यसको अर्थ यो चार गुणा छिटो भएको हो।
यस परिवर्तनको मूल कारण एज ब्राउजरको वेब युआई २.० आर्किटेक्चरमा गरिएको माइग्रेसन हो, जसले ब्राउजरको आन्तरिक प्रणाली झनै कुशल बनाएको छ।
माइक्रोसफ्टले भविष्यमा प्रिन्ट प्रिभ्यू, एक्सटेन्सन लगायतका सुविधाहरूमा पनि यस्तै प्रदर्शन सुधार ल्याउने तयारी गरिरहेको बताएको छ।
यद्यपि विभिन्न बेन्चमार्क परीक्षणमा माइक्रोसफ्ट एज, गुगल क्रोम, सफारीजस्ता लोकप्रिय ब्राउजरहरूबीच समग्र ब्राउजिङ गति भने धेरै फरक देखिएको छैन। जेटस्ट्रिम, स्पीडोमिटर र वेबएसपीआरटी ४ जस्ता परीक्षणमा नतिजा तुलनात्मक देखिएको छ।
तर, माइक्रोसफ्टका अनुसार, यो युआई स्तरको सुधारले प्रयोगकर्तालाई वेब ब्राउज गर्न अझ सहज, छरितो र उत्तरदायी अनुभव प्रदान गर्नेछ ।