कीवर्डहरू -

माइक्रोसफ्टको गेमिङ कोपाइलट अब विन्डोज पीसी र एक्सबक्स मोबाइल एपमा

माइक्रोसफ्टको गेमिङ कोपाइलट अब विन्डोज पीसी र एक्सबक्स मोबाइल एपमा

माइक्रोसफ्टले आफ्नो गेमिङ एआई असिस्टेन्ट गेमिङ कोपाइलट औपचारिक रूपमा विन्डोज पीसी र एक्सबक्स मोबाइल एपमा ल्याउने घोषणा गरेको छ। यसअघि यो सेवा एक्सबक्स इन्साइडर्समार्फत परीक्षण गरिएको थियो।

कम्पनीका अनुसार गेमिङ कोपाइलट १८ वर्षभन्दा माथिका प्रयोगकर्ताले पीसी गेम बारमार्फत प्रयोग गर्न सक्नेछन्। मोबाइल संस्करण भने आगामी अक्टोबरदेखि एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध हुने बताइएको छ। हालसम्म यसअघि मोबाइलमा यसको बीटा परीक्षण सम्पन्न भएको थियो। तर यो सेवा चीन बाहेक विश्वभर उपलब्ध हुनेछ।

गेमिङ कोपाइलटलाई पुराना ‘निन्टेन्डो हेल्प फोन लाइन’ को आधुनिक एआई संस्करणका रूपमा हेरिएको छ। खेल्दा स्क्रिनमा देखिने च्याट बक्समार्फत प्रयोगकर्ताले प्रश्न सोध्न वा टिप्स लिन सक्नेछन्। यो प्रणालीले प्रयोगकर्ताको गेमिङ गतिविधि बुझ्ने र खेलसँग सम्बन्धित स्क्रिनसटको आधारमा सहायतासमेत गर्नेछ। साथै, एक्सबक्स खातासम्बन्धी जानकारी दिने तथा खेल वा अन्य सामग्रीको सिफारिस गर्ने सुविधा पनि यसमा समावेश छ।

नयाँ संस्करणमा भ्वाइस च्याट सुविधा थपिएको छ जसले प्रयोगकर्ताले बोलेरै प्रश्न सोध्न सक्छन्। पीसीमा ‘पुष टु टक’ हटकिजमार्फत यो सुविधा सक्रिय गर्न सकिन्छ भने एपमा माइक्रोफोन बटन राखिएको छ। लामो संवादका लागि पीसीमा विजेटलाई स्क्रिनमा मनपर्ने ठाउँमा राख्न सकिने सुविधा पनि दिइएको छ।

माइक्रोसफ्टले हालै घोषणा गरेको आफ्नो पोर्टेबल ‘एक्सबक्स एली’ ह्यान्डहेल्ड गेमिङ मेसिनमा पनि यो सेवा आउने सम्भावना छ। सो कन्सोल आगामी अक्टोबर १६ मा बजारमा आउनेछ र त्यसपछि कोपाइलटको आधिकारिक अपडेट त्यहाँ पनि उपलब्ध गराइने अनुमान गरिएको छ।

कम्पनीले प्रयोगकर्ताबाट निरन्तर प्रतिक्रिया लिन आग्रह गरेको छ र गेमिङ कोपाइलटलाई अझ उपयोगी र खेलाडीहरूको आवश्यकताअनुसार बनाउन काम भइरहेको जनाएको छ।