मिडजर्नीले भिडियो मोडेल सार्वजनिक गरेको छ। अब प्रयोगकर्ताहरूले मिडजर्नीमा बनाएका वा अन्य स्रोतबाट ल्याइएका तस्वीरहरूलाई एनिमेट गरी छोटा भिडियो क्लिप तयार गर्न सक्नेछन् ।
सुरुमा पाँच सेकेन्डको भिडियो तयार हुनेछ, जसलाई प्रयोगकर्ताले चारपटकसम्म थप चार सेकेन्डले विस्तार गर्न सक्नेछन् । यो सुविधा हाललाई वेब संस्करणमा मात्र उपलब्ध छ र प्रयोग गर्नका लागि महिना १० डलरको सदस्यता अनिवार्य गरिएको छ ।
तर भिडियो मोडेल ल्याएको केही दिनमै कम्पनी कानुनी समस्यामा फसेको छ । डिज्नी र एनबीसी युनिभर्सलले मिडजर्नीविरूद्ध प्रतिलिपि अधिकार उल्लंघनको आरोप लगाउँदै मुद्दा दायर गरेका छन् । उनीहरूको दाबी अनुसार कम्पनीले आफ्नो मोडेल प्रशिक्षणका लागि अनुमति बिना सामग्री प्रयोग गरेको छ ।
यसअघि नै गूगलले भीओ 3 र ओपन एआईले सोरा र एडोबले फायरफ्लाई भिडियो मोडल जस्ता भिडियो उत्पादन टुलहरू ल्याइसकेका छन् । प्रतिस्पर्धा तीव्र भइरहेका बेला मिडजर्नीको प्रवेशले प्रयोगकर्ताहरूमा उत्साह देखिए पनि, कानुनी चुनौतीले यसको भविष्यमा असर पार्न सक्ने विश्लेषणहरू भइरहेका छन् ।