अब नासाका अन्तरिक्षयात्रीहरूले अन्तरिक्षमा रहँदा आफ्नै स्मार्टफोन प्रयोग गर्न पाउने भएका छन्। नासाले पहिलो पटक यस्तो अनुमति दिँदै Crew-12 र Artemis II मिसनबाट यसको सुरुवात गर्ने जनाएको छ।
Crew-12 मिसन आगामी साता अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनतर्फ प्रस्थान गर्ने अपेक्षा गरिएको छ। त्यसैगरी, बहुप्रतीक्षित Artemis II मिसन—जसले सन् १९६० को दशकपछि पहिलो पटक मानवलाई चन्द्रमाको वरिपरि लैजानेछ—मार्चसम्मका लागि स्थगित गरिएको छ।
नासाका प्रशासक जार्ड आइज्याकम्यानले सामाजिक सञ्जाल एक्समा लेख्दै अन्तरिक्षयात्रीहरूलाई परिवारका लागि विशेष क्षण कैद गर्न र संसारसँग प्रेरणादायी तस्बिर तथा भिडियो साझा गर्न सहज बनाउन स्मार्टफोन प्रयोगको अनुमति दिइएको बताएका छन्।
नयाँ मोडलका आईफोन र एन्ड्रोइड डिभाइस प्रयोग गर्न पाउँदा अन्तरिक्षयात्रीहरूले तस्बिर र भिडियो खिच्न अझ स्वतन्त्र र सहज हुने नासाको विश्वास छ। यसले गर्दा पृथ्वीमा रहेका मानिसहरूका लागि यी अन्तरिक्ष यात्राहरू नासाका अहिलेसम्मकै सबैभन्दा धेरै दस्तावेज गरिएको मिसन बन्न सक्ने अपेक्षा गरिएको छ।
शून्य गुरुत्वाकर्षणमा टिकटक भिडियो बनाउने अन्तरिक्षयात्री वा अन्तरिक्षयानभित्रैबाट अल्ट्रा वाइड सेल्फी खिच्ने दृश्य कल्पना गर्न सकिने भएको छ। नासाले लामो समयदेखि चल्दै आएको नियमलाई छिटो परिवर्तन गर्दै आधुनिक प्रविधिलाई अन्तरिक्ष यात्राका लागि स्वीकृत गर्नु पनि उल्लेखनीय विषय बनेको छ।
‘हामीले लामो समयदेखि चल्दै आएका प्रक्रियालाई चुनौती दिँदै छोटो समयमै आधुनिक हार्डवेयरलाई अन्तरिक्ष यात्राका लागि योग्य बनाएका छौँ। यस्तो कार्यगत तत्परताले अन्तरिक्ष कक्ष र चन्द्रमाको सतहमा उच्च मूल्यको विज्ञान र अनुसन्धान अघि बढाउन नासालाई सहयोग गर्नेछ,’ आइज्याकम्यानले भनेका छन् ।
नयाँ प्रविधिलाई अन्तरिक्षमा लैजान स्वीकृति दिनु सजिलो नभएको नासाले स्वीकार गरेको छ, किनकि सानो त्रुटिले पनि मिशन असफल हुन सक्छ।
अहिलेसम्म नासाले प्रयोग गर्दै आएका क्यामेरा उपकरणहरू दशक पुराना निकोन डीएसएलआर र गो–प्रो रहेका थिए। यद्यपि ती प्रभावकारी भए पनि स्मार्टफोन प्रयोगले अन्तरिक्ष यात्रालाई अझ सहज, स्वाभाविक र रोचक बनाउने अपेक्षा गरिएको छ।
आईसीटी समाचार