राष्ट्रियस्तरको प्रतियोगिता कोडेभर ६.० सम्पन्न भएको छ । नेपाली विद्यार्थी आविष्कारकहरूको असाधारण सिर्जनात्मक क्षमता तथा प्राविधिक विशेषज्ञतालाई प्रस्फुटन गर्ने अवसर प्रदान गर्ने गरी कोडिभर सञ्चालन भएको थियो ।
कार्यक्रममा एसिया प्यासिफिक स्कुल, बुढानीलकण्ठ स्कुल, एलिट ग्रान्ड स्कुल, हिमालय बोर्डिङ हाई स्कुल, रिलायन्स पब्लिक स्कुल, बृहस्पति विद्यासदन स्कुल, केन्द्रीय विद्यालय काठमाडौँ, युलेन्स स्कुललगायत विभिन्न स्कुलहरूको प्रतिनिधित्व गर्ने २०० भन्दा बढी विद्यार्थीहरूले ५० भन्दा बढी परियोजनासहित सहभागिता जनाएका थिए ।
अन्तर्राष्ट्रिय कोडेभर ६.० एआई, कोडिङ र रोबोटिक्स प्रतियोगिताको अंशको रूपमा आयोजना गरिएको यसमा विद्यालयस्तरका कक्षा ४ देखि १२ सम्मका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
यस प्रतियोगिताले सहभागीहरूलाई प्रविधिमार्फत वास्तविक विश्व चुनौतीहरूलाई सम्बोधन गर्ने अग्रगामी विचारहरू प्रस्तुत गर्न प्लेटफर्म प्रदान गरेको आयोजकको भनाइ छ ।
यो प्रतियोगिताको उद्देश्य विद्यार्थीलाई संयुक्त राष्ट्र सङ्घको दिगो विकास लक्ष्यसँग मिल्दाजुल्दा नवीन समाधानहरू पहिचान गर्न कृत्रिम बौद्धिकता, कोडिङ र रोबोटिक्सको प्रयोग गर्न प्रेरित गर्नु पनि थियो ।
अब आयोजना भएको प्रतियोगितामार्फत राष्ट्रियस्तरका शीर्ष २० अन्तिम प्रतिस्पर्धीहरूको नाम चाँडै घोषणा गरिने छ । उनीहरूले मे ३० र ३१, २०२५ मा कतारमा आयोजना हुने कार्यक्रममा सहभागिता जनाउन पाउने छन् ।
यसमा ३० भन्दा बढी देशका युवा नवप्रवर्तकहरूसँग अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्ने छन् । विश्वव्यापी रूपमा सञ्चालित यसले नेपालका प्रतिस्पर्धी विद्यार्थीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने र अन्तर्राष्ट्रिय स्तरमा परिचित हुने अवसर प्रदान गर्ने छ ।
नेपालमा कोडेभर ६.० निमा एकेडेमीले स्किल्सअप ग्लोबलसँगको सहकार्यमा आयोजना गरेको हो । कोडेभर एक विश्वव्यापी एआई, कोडिङ र रोबोटिक्स प्रतियोगिता हो जुन विद्यार्थीहरूमा रचनात्मकता र समस्या समाधानका लागि डिजाइन गरिएको हो ।
                  
                  
              
                                      आईसीटी समाचार