कीवर्डहरू -

व्यवसाय विविधिकरणमा एनसेल, युरोपेली साइबर सेक्युरिटी कम्पनी विथसेक्योरसँग साझेदारी

व्यवसाय विविधिकरणमा एनसेल, युरोपेली साइबर सेक्युरिटी कम्पनी विथसेक्योरसँग साझेदारी

निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना इन्टरप्राइज ग्राहकहरूको सुरक्षालाई अझ सुदृढ बनाउन विश्वस्तरको साइबर सुरक्षा कम्पनी विथसेक्योरसँग एक्सक्लुसिभ साझेदारी गरेको छ । 

यस साझेदारीमार्फत अब एनसेल बिजनेसले नेपाली व्यवसायहरूलाई साइबर स्पेसका खतराबाट जोगाउन उत्कृष्ट सुरक्षा समाधानहरू उपलब्ध गराउने छ ।

विथसेक्योरसँगको सहकार्य सुरक्षित भविष्य निर्माणको एक कदम एनसेलका चिफ इन्टरप्राइज बिजनेस अफिसर डिओन एसेन्सियोले भएको बताए । 

‘एनसेल बिजनेसले सधैं आफ्ना इन्टरप्राइज सेवाहरूमा सुरक्षालाई केन्द्रमा राखेर काम गर्ने गरेको छ । विथसिक्योरसँगको हाम्रो साझेदारीले अब हाम्रा ग्राहकहरूले आफ्नो व्यवसायका लागि विश्वस्तरको साइबर सुरक्षा प्राप्त गर्नेछन्,’ एसेन्सियोले भने, ‘यसले गर्दा साइबर खतराको चिन्ता नगरी व्यवसायीहरूले निश्चिन्त भएर आफ्ना व्यवसायहरु बढाउन ध्यान केन्द्रित गर्न सक्ने छन् । अब एनसेलले व्यवसायहरूका लागि पूर्ण इकोसिस्टम प्रदान गर्नेछ ।’

यस्तै विथसेक्योरका उपाध्यक्ष पाओलो पालुम्बोले पनि नेपालकै अग्रणी दूरसञ्चार कम्पनी एनसेलसँग साझेदारी गर्न पाउँदा अत्यन्तै उत्साहित भएको बताए । 

‘हाम्रो विश्वव्यापी पहुँचलाई अझ विस्तार गर्दै, अब हामी नेपाली व्यवसायहरूको लागि उपस्थित भएका छौं,’ उनले भने, ‘हामी नेपाली व्यवसायहरुका लागि ‘पहिलो रोजाइ’ बन्ने छौं, जसले साइबर सुरक्षामा लगानीको अधिकतम प्रतिफल सुनिश्चित गर्दछ र व्यवसायलाई चुस्त, प्रतिस्पर्धात्मक र नवप्रवर्तनात्मक बनाउने छ ।’

पछिल्लो समय टेलिकम कम्पनीहरूको आम्दानी घटिरहेको बेला एनसेलले आफ्नो व्यवसाय विविधकरणमा अगाडि बढेको छ । घट्दो आम्दानीका बीच विविधकरणले व्यवसायलाई दिगो बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ । 

अहिलेसम्म मोबाइल सेवामा मात्र केन्द्रित एनसेल अब इन्टरप्राइजमा केन्द्रित हुन खोजिरहेको छ । त्यसैले फिनल्याण्डको कम्पनी विथसेक्योरसँग सहकार्य गरेको हो ।

विथसेक्योरले इन्डप्वाइन्ट डिभाइस प्रोटेक्सन, डिटेक्सन र रेस्पोन्स (इडीआर/एक्सडीआर), क्लाउड सेक्योरिटी, भल्नरेबिलिटी म्यानेजमेन्ट, इमेल सेक्योरिटी र थ्रेट इन्टेलिजेन्सहरू सेवाहरू प्रदान गर्दै आएको छ । 

एनसेलका अनुसार साइबर सुरक्षामा अग्रणी विश्वस्तरको युरोपेली कम्पनीसँगको यो सहकार्यले नेपाली व्यवसायहरूलाई अत्याधुनिक प्रविधिबाट सुसज्जित गराउँदै डेटा, प्रणाली र सञ्चालन सुरक्षित राख्ने छ ।