आइसिटी फाउन्डेसन नेपाल र एनसेल फाउन्डेसनको सहकार्यमा सञ्चालित डिजिटल साक्षरता कार्यक्रम कर्णाली प्रदेशमा सम्पन्न भएको छ ।
जेठ २२ गते कर्णाली प्रदेशको सिद्ध कुमाख गाउँपालिका-३, ढोरचौर, सल्यान स्थित निराजन माध्यमिक विद्यालय मा आइसिटी ज्ञान कार्यक्रम सञ्चालन गरिएको हो ।
डिजिटल साक्षरताको अभियान सबैको पहुँचमा सुचना प्रविधिको मूल नारासहित भएको कार्यक्रममा १७५ जना सहभागी रहेका थिए, जसमा विद्यार्थी, शिक्षक, जनप्रतिनिधि र स्थानीयहरूको सहभागीता रहेको थिए ।
कार्यक्रममा डिजिटल साक्षरता, डिजिटल एजुकेसन टुल र साइबर सुरक्षाको बारेमा जानकारी प्रदान गरिएको थियो ।
कार्यक्रममा सिद्ध कुमाख गाँउपालिकाका उपाध्यक्ष रामबहदुर बस्नेत कार्यक्रमका प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा स्वागत मन्तव्य दिदै निराजन माध्यमिक विद्यालयका प्रधानाध्यापक धर्मराज घर्तीले अहिलेको युगमा प्रविधिमूलक शिक्षामा जोड दिनुपर्ने बताए ।
डिजिटल शिक्षा र आवश्यक पूर्वाधार विकासका लागि विद्यालयले ‘एक दिनको खाजा निराजन माविलाई’ अभियानमार्फत ४८ लाख रूपैयाँ संकलन गरिसकेको समेत उनले जानकारी दिए ।
देशभर डिजिटल साक्षरता फैलाउने उद्देश्यसहित आइसिटी फाउन्डेसन नेपाल र एनसेल फाउन्डेसनको संयुक्त पहलमा आयोजना गरिएको आइसिटी ज्ञान साक्षरता कार्यक्रम सातै प्रदेशमा सञ्चालन भइरहेको छ । यसअघि कोशी, मधेश र सुदूरपश्चिम प्रदेशमा आइसिटी ज्ञान कार्यक्रम सम्पन्न भइसकेको छ ।