नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो नयाँ प्रतिबद्धतापत्रमा सूचना प्रविधि र नवप्रवर्तनलाई आर्थिक रूपान्तरणको मुख्य आधार बनाउने घोषणा गरेको छ।
विज्ञान, प्रविधि र नवप्रवर्तनलाई रोजगारी सिर्जना र आत्मनिर्भर अर्थतन्त्रको केन्द्रमा राख्दै पार्टीले स्टार्टअप कर छुट, पेटेन्ट प्रोत्साहन, उत्पादन विकास र डिजिटल पूर्वाधार विस्तारलाई जोड दिने नीति बनाएको हो।
विद्यालयदेखि विश्वविद्यालयसम्म स्टेम शिक्षालाई व्यवहारिक र अनुसन्धानमुखी बनाइने उल्लेख छ। पढाइलाई सीधै रोजगारीसँग जोड्न उद्योग–शैक्षिक सहकार्य बढाइने र प्रयोगशालामा आधारित सिकाइलाई अनिवार्यताजस्तै बनाइनेछ।
सामुदायिक विद्यालयहरूमा कोडिङ र डिजिटल साक्षरता कार्यक्रम सञ्चालन गरिने तथा छोटो अवधिका प्राविधिक तालिममार्फत विद्यार्थीलाई प्रारम्भिक चरणमै सीपयुक्त बनाउने योजना रहेको छ।
युवालाई प्रत्यक्ष उद्यमतर्फ ल्याउन ‘युवा नेतृत्व नवप्रवर्तन कार्यक्रम’ सञ्चालन गरिनेछ, जसबाट विद्यार्थी र अनुसन्धानकर्तालाई स्टार्टअप, उत्पादन विकास र प्रविधि उद्यममा प्रवेश गराइने बताइएको छ।
देशभर नवप्रवर्तनको संरचना निर्माण गर्न प्रत्येक प्रदेशमा इनोभेसन तथा इन्क्युबेसन केन्द्र स्थापना गरिनेछ र विचारदेखि बजारसम्मको सम्पूर्ण प्रक्रियामा राज्यले सहजीकरण गर्ने नीति अघि सारिएको छ।
उदीयमान प्रविधिमा दक्ष जनशक्ति तयार पार्न कृत्रिम बुद्धिमत्ता, डाटा साइन्स, साइबर सुरक्षा, फिनटेक, बायोटेक र नवीकरणीय ऊर्जामा राष्ट्रियस्तरको विशेष कार्यक्रम सञ्चालन गरिनेछ।
विदेश पलायन रोक्ने उद्देश्यले वैज्ञानिक, इन्जिनियर र प्राविधिकलाई अनुसन्धान अनुदान, कर सहुलियत, सुरक्षित करियर मार्ग र सम्मानजनक पारिश्रमिक दिने प्रतिबद्धता जनाइएको छ। साथै प्रत्येक प्रदेशमा अनुसन्धान केन्द्र स्थापना गरी १० देखि १०० वैज्ञानिक परिचालन गर्ने तथा पेटेन्ट र उत्पादन विकासलाई प्रोत्साहन गर्ने योजना छ।
डिजिटल शासन सुदृढ बनाउँदै सार्वजनिक सेवा पारदर्शी र नागरिकमैत्री बनाइने, नियुक्ति र अनुदान प्रणाली पूर्णतः योग्यता र प्रतिस्पर्धामा आधारित हुने उल्लेख गरिएको छ।
सूचना प्रविधि उद्योगलाई राष्ट्रिय प्राथमिकतामा राख्दै स्टार्टअप दर्ता निःशुल्क गर्ने, पाँच वर्षसम्म पूर्ण कर छुट र त्यसपछि प्रगतिशील कर प्रणाली लागू गर्ने योजना पनि सार्वजनिक गरिएको छ।
नवप्रवर्तन कोष, मेन्टोरिङ र लगानी सुरक्षासहित आईटी पार्कमार्फत डिजिटल उद्यमशीलता विस्तार गरिनेछ र बागमती प्रदेशलाई शहरी आईटी तथा नवप्रवर्तन हबका रूपमा विकास गर्ने कार्यक्रम समावेश गरिएको छ।
साथै राष्ट्रिय साइबर सुरक्षा नीति लागू गर्दै साइबर कमाण्ड सेन्टर स्थापना गरी सूचना सुरक्षालाई राष्ट्रिय सुरक्षासँग जोडेर हेर्ने नीति पार्टीले अघि सारेको छ।
आईसीटी समाचार