नेपाल राष्ट्र बैंकले डिजिटल वालेट आईएमई पे र खल्तीलाई मर्जरका लागि अन्तिम स्वीकृतिपत्र प्रदान गरेको छ । नेपालको इतिहासमै दुई ठूला डिजिटल वालेटबीच मर्ज हुन लागेको यो पहिलो पटक हो ।
आईएमई पे र खल्तीको एकीकृत कारोबारपछि आधिकारिक रूपमा कम्पनीको नाम भने आईएमई खल्ती लिमिटेड रहने छ । यसको रजिस्टर्ड कार्यालय काठमाडौं पानीपोखरीमा रहने छ ।
संयुक्त कारोबारपछि अधिकारिक रूपमा एपको नाम खल्ती रहने छ । राष्ट्र बैंकबाट एकीकृत कारोबारका लागि अन्तिम स्वीकृति पाएसँगै आगामी तीन महिनासम्म प्रयोगकर्ताहरूको समायोजन कार्य तीव्र रूपमा चल्ने छ । जसका लागि दुवै एप, आईएमई पे र खल्ती यथावत सञ्चालनमा रहने छन् ।
दुवै वालेट प्रयोगकर्ताहरूको रकम र रोयल्टी प्वाइन्टहरू, खल्ती प्वाइन्ट र आईएमई पे रिवार्ड प्वाइन्टहरू पनि उल्लेखित समयमा एकीकृत हुनेछन् । खल्ती र आईएमई पे दुवैमा भएका प्रयोगकर्ता एकै ट्यापमा एपमा एकीकृत हुनेछन् भने आईएमई पेमा मात्र भएका प्रयोगकर्ताहरूको स्वीकृतिमा खल्तीमा समावेश गरिने छ ।
नयाँ प्रयोगकर्ताका हकमा भने प्रयोगकर्ताले सिधै खल्ती एप डाउनलोड गरेर नयाँ फिचरमा प्रवेश गर्न सक्नेछन् र आईएमई पे एपमात्र प्रयोग गरिरहेका प्रयोगकर्ताले पनि अब खल्ती एपबाट नै सेवा सुविधाको उपयोग गर्न सक्नेछन् ।
संयुक्त कारोबारपछि एपको नाम खल्ती भए पनि आईएमई पेमा भएका सबै फिचर त्यहाँ समावेश हुनेछन् । अहिलेसम्म आईएमई पेमा रहेका ग्राहक पनि एक ट्यापमै खल्ती एपमा आबद्ध हुन सक्नेछन् ।
आईएमई पेमा भएका ब्यालेन्स, रिवार्ड प्वाइन्ट सहजै खल्तीमा स्थानान्तरण हुनेछन् । यस कार्यबाट खल्ती एप सहज र सुविधाजनक डिजिटल प्लेटफर्मका रूपमा स्थापित हुने विश्वास लिइएको छ ।
संयुक्त कारोबारपछि यो डिजिटल भुक्तानी प्रणाली आगामी दिनमा व्यापक रूपमा प्रयोग हुने मात्र नभई सबैभन्दा विश्वासिलो भुक्तानी प्रणालीका रूपमा रहने कम्पनीको विश्वास छ ।
डिजिटल भुक्तानी बिस्तारै दैनिक जीवनको एक हिस्सा बन्दै गरेको वर्तमान समयमा आईएमई पे र खल्तीबीचको संयुक्त कारोबार नेपालको डिजिटल क्षेत्रमा कोशेढुंगा सावित हुने विश्वास गरिएको छ ।
खल्ती वालेटले आगामी दिनमा प्रयोगकर्तालाई फिनटेक क्षेत्रमा नयाँ अनुभव प्रदान गर्ने छ । एपमार्फत प्रयोगकर्ताले विश्वको कुनै पनि ठाउँबाट पठाएको रेमिटेन्स सजिलै वालेटमा प्राप्त गर्न सक्नेछन् भने एपमार्फत नै बैंक खाता खोल्न, भिसा कार्ड प्राप्त गर्न सक्नेछन् ।
साथै, भविष्यमा ऋण तथा अन्य सुविधाको पहुँच विस्तार पनि खल्ती एपमै हुनेछ । यसरी खल्ती एपले फिनटेक प्रणालीलाई नयाँ र बलियो निर्देशन प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ ।