कीवर्डहरू -

नेटवर्क पूर्वाधार विज्ञ रामकृष्ण परियारलाई प्रोफेसनल एक्सिलेन्स आइसिटी अवार्ड २०२५ प्रदान

नेटवर्क पूर्वाधार विज्ञ रामकृष्ण परियारलाई प्रोफेसनल एक्सिलेन्स आइसिटी अवार्ड २०२५ प्रदान

नेटवर्क पूर्वाधार तथा साइबर सुरक्षा विज्ञ रामकृष्ण परियार प्रोफेसनल एक्सिलेन्स आइसिटी अवार्ड २०२५ बाट सम्मानित भएका छन् । 

शुक्रबार द प्लाजा पुलचोक ललितपुरमा आयोजना भएको ‘इन्ड्राइभ आइसिटी अवार्ड २०२५ इन एशोशिएसन विथ नेपालपे क्युआर, टिङटङ पावर्ड बाई सस्तो टिकेट्स, एमआईटी, केमसी’को ग्राण्ड फिनाले कार्यक्रममा परियारले प्रोफेसनल एक्सीलेन्स आइसिटी अवार्ड प्राप्त गरेका हुन् । 

आइसिटी अवार्डमा प्रोफेसनल एक्सीलेन्स अवार्ड आइसिटी क्षेत्रसँग सम्बन्धित रहेर कम्तिमा ७ वर्षको अनुभवसँगै यस क्षेत्रमा पुर्याएको महत्त्वपूर्ण योगदान र विशेष कामको आधारमा यो अवार्ड प्रदान गरिन्छ । 

यो वर्ष नेटवर्क पूर्वाधार तथा साइबर सुरक्षाको क्षेत्रमा काम गरिरहेका परियारले सो अवार्ड पाएका हुन् । विगत २४ वर्षदेखि सूचना प्रविधि क्षेत्रमा क्रियाशिल रामकृष्ण परियार नेटवर्क पूर्वाधार तथा साइबर सुरक्षा विज्ञ हुन ।

हाल सुबिसु केबलनेटको उपाध्यक्ष तथा चीफ इन्फर्मेसन सेक्युरिटी अफिसरको भूमिकामा कार्यरत उनले केही आईटी कलेजमा पनि ज्ञान बाड्दै आएका छन् । 

उनकै नेतृत्वमा सुबिसुले पहिलो इन्टरनेट सेवा प्रदायकका रूपमा नेपालमा डक्सेस मापदण्ड, मेट्रो मापदण्ड, एमपीएलएस र आईपीभी सिक्स प्रविधि सुरू गरेको थियो । 

नेटवर्क तथा साइबर सुरक्षा सम्बन्धि नीति नियमहरू तयार गर्नमा योगदान गरेका उनी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थामा प्रशिक्षकका रूपमा पनि सक्रिय छन् । 

सरकारी डेटा सेन्टरको आन्तरिक नेटवर्क डिजाइन, नेपाल प्रहरीको कमाण्ड सेन्टर नेटवर्क डिजाइन तथा डिप्लोयमेन्ट तथा विभिन्न बैंकहरूको नेटवर्क संरचना विकास जस्ता महत्वपूर्ण काम गरिसकेका छन् । 

आगामी दिनमा सरकार र निजी क्षेत्रसँग सहकार्य गर्दै पूर्णरूपमा आईपीभी सिक्स लागू गर्ने, साथै म्यानर्स राउटिङ सेक्युरिटी र डिएनएस सिक्सको कार्यान्वयनमा योगदान पुर्‍याउने उनको योजना छ।