कीवर्डहरू -

२४ घण्टामै नयाँ सवारी लाइसेन्स, २९ लाख बाँकी असार मसान्तभित्र छापिने

२४ घण्टामै नयाँ सवारी लाइसेन्स, २९ लाख बाँकी असार मसान्तभित्र छापिने

सरकारले नयाँ सवारीचालक अनुमतिपत्र (लाइसेन्स) आवेदनको तथ्याङ्क प्राप्त भएको २४ घण्टाभित्रै उपलब्ध गराउने व्यवस्था मिलाएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले यातायात व्यवस्था विभागबाट डाटा आएको एक दिनभित्रै छपाइ गरी सेवाग्राहीलाई हस्तान्तरण गरिने जानकारी दिएका हुन्।

यसैगरी, लामो समयदेखि मुद्रण हुन बाँकी रहेका करिब २९ लाख स्मार्ट लाइसेन्स आगामी २०८३ साल असार मसान्तभित्र छपाइ सम्पन्न गर्ने लक्ष्य सरकारले सार्वजनिक गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले शुक्रबार स्वीकृत गरेको ‘प्रमुख सुधारात्मक कार्यक्रम’ अन्तर्गत वर्षौँदेखिको ढिलाइ अन्त्य गर्न समयसीमा तोकिएको हो।

हाल छपाइ हुन बाँकी रहेका लाइसेन्सहरू सुरक्षण मुद्रण केन्द्रको अत्याधुनिक मेसिनलाई पूर्ण क्षमतामा परिचालन गरी युद्धस्तरमा मुद्रण गरिने मन्त्रालयले जनाएको छ। मन्त्रिपरिषद्को गत १३ चैतको निर्णयअनुसार ‘नतिजामा आधारित शासकीय प्रबन्ध’ कार्यान्वयन गर्न यो मार्गचित्र अघि सारिएको हो।

null

लाइसेन्स छपाइमा ढिलाइ हुँदा लाखौँ नागरिकले रसिदको भरमा सवारी चलाउँदै आएका थिए। नयाँ व्यवस्थापछि भने आवेदकले २४ घण्टाभित्रै लाइसेन्स प्राप्त गर्ने अपेक्षा गरिएको छ।