विश्वव्यापी प्रतिस्पर्धात्मक मञ्च कोडेभर ७.० को राष्ट्रिय प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्दै काठमाडौंको बसुन्धरास्थित न्यु क्यासन स्कुलका छात्राहरूले “गर्ल्स इन टेक अवार्ड” जितेका छन्। यस सफलतासँगै विजेता टोलीले इन्डोनेसियाको जकार्तामा २०२६ मे १६–१७ मा आयोजना हुने कोडेभर ७.० को अन्तर्राष्ट्रिय फाइनलमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाएको छ।
विजेता टोलीमा रितिका पौडेल, तृप्ति घिताल र नितु सरदार रहेका छन्। उनीहरूले विकास गरेको “Automated Vertical Garden” एक आइओटी–आधारित स्मार्ट बगैँचा समाधान हो, जसले सहरी क्षेत्रमा सीमित स्थान, अनियमित सिँचाइ र सूर्यप्रकाशको अभावजस्ता समस्यालाई सम्बोधन गर्ने लक्ष्य राखेको छ।
ESP32 माइक्रोकन्ट्रोलरमा आधारित यस प्रणालीले माटोको आर्द्रता र पानीको सतह मापन गर्ने सेन्सरमार्फत बिरुवाको अवस्था निरन्तर अनुगमन गर्छ र आवश्यकताअनुसार स्वचालित रूपमा सिँचाइ सञ्चालन गर्छ। साथै, प्रकाश संवेदक (एलडीआर) र वर्षा संवेदकको प्रयोगले पानीको बचत गर्दै बिरुवालाई उपयुक्त वातावरण उपलब्ध गराउँछ।
माटोको आर्द्रताका आधारमा स्वचालित सिँचाइ, स्मार्ट पानी व्यवस्थापन, सूर्यप्रकाश अनुगमन, वर्षा पत्ता लगाएर अनावश्यक सिँचाइ रोक्ने सुविधा तथा ठाउँ बचत गर्ने ठाडो डिजाइन यस परियोजनाका मुख्य विशेषताहरू हुन्। घर, विद्यालय र अपार्टमेन्टमा सहज रूपमा प्रयोग गर्न सकिने यो प्रणालीले दिगो कृषि, हरित सहरी जीवनशैली र प्रविधिमैत्री समाधानको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ।
कोडेभर ७.० को ट्र्याक १ (नवीनता र उद्यमशीलता) अन्तर्गत विद्यार्थीहरूलाई वास्तविक जीवनका समस्या पहिचान गरी सामाजिक, वातावरणीय तथा आर्थिक प्रभाव पार्ने प्रविधिमूलक समाधान विकास गर्न प्रोत्साहित गरिन्छ। यस उपलब्धिले प्रविधि क्षेत्रमा नेपाली युवतीहरूको बढ्दो सक्रियता र सिपलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाएको छ र अन्य विद्यार्थीहरूलाई पनि नवीन आविष्कारतर्फ प्रेरित गर्ने अपेक्षा गरिएको छ।
आईसीटी समाचार