कीवर्डहरू -

न्युज एग्रीगेटर प्लेटफर्म ‘छलफल डटकम’ सार्वजनिक, समाचार छान्ने, पढ्ने र सुरक्षित राख्ने सुविधा

न्युज एग्रीगेटर प्लेटफर्म ‘छलफल डटकम’ सार्वजनिक, समाचार छान्ने, पढ्ने र सुरक्षित राख्ने सुविधा

एआईमा आधारित न्युज एग्रीगेटर प्लेटफर्म छलफल डटकम सार्वजनिक भएको छ । छलफल डटलकमले प्रयोगकर्ताहरूलाई आवश्यकताअनुसार समाचार छान्ने, पढ्ने र सुरक्षित राख्ने सुविधा दिनेछ ।

प्रविधिको प्रयोगमार्फत समाचारलाई प्रयोगकर्तामैत्री बनाउने उद्देश्यले तयार गरिएको छलफल डटकममा ग्लोबलदेखि हाइपर-लोकल समाचार सजिलै फिल्टर गर्न सकिने बताइएको छ । यसमार्फत विश्वका जुनसुकै कुनाबाट पनि आफ्नै जिल्ला, प्रदेश वा देशका समाचार हेर्न सकिन्छ ।

प्लेटफर्मको प्रमुख विशेषता भनेको एआईद्वारा तयार पारिएको संक्षिप्त सारांश हो, जसले प्रत्येक समाचारको मुख्य बुँदा झिकेर प्रयोगकर्तालाई केही सेकेन्डमै विषयवस्तुको बुझाइ दिन्छ । स्थान, मिति, विषय र भावनात्मक टोन अनुसार समाचार छान्न मिल्ने सुविधाले प्रयोगकर्तालाई अझ सटीक र उद्देश्यपूर्ण समाचार पढ्न सहयोग पुर्‍याउने कम्पनीको भनाइ छ । 

छलफल डटकमले सामुदायिक पत्रकारितालाई समेत प्रवर्द्धन गरेको छ। अब स्वयंसेवी रिपोर्टरहरूले आफ्ना समाचारहरू सिधै पठाउन सक्ने व्यवस्था गरिएको छ, जसले स्थानीय आवाजलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने विश्वास लिइएको छ ।

छलफल डटकमका सह-संस्थापक तथा प्रविधि प्रमुख प्रकाश शाही भन्छन् - समाचारलाई पाठकको नियन्त्रणमा ल्याउने लक्ष्य छ । समाचारले दबाबमा पार्ने होइन सशक्त बनाउनु पर्छ । 

यस्तै अर्का सह-संस्थापक उपेन्द्रप्रसाद न्यौपानेले एआई प्रणालीले समाचारको गहिरो विश्लेषण गरेर संक्षेपमा प्रस्तुत गर्दै सूचना ग्रहणलाई सहज बनाउने जानकारी दिए । 

निकट भविष्यमा मोबाइल एप, बहुभाषिक समर्थन, र थप स्मार्ट फिल्टर सहितका सेवा पनि ल्याउने तयारी गरिएको छ ।