कीवर्डहरू -

अब दृष्टिविहीनहरूले सुनेरै इसेवा चलाउन सक्ने फिचर आएको छ, कसरी गर्ने प्रयोग?

अब दृष्टिविहीनहरूले सुनेरै इसेवा चलाउन सक्ने फिचर आएको छ, कसरी गर्ने प्रयोग?

के तपाईंलाई जानकारी छ? इसेवाले दृष्टिविहीन तथा कम दृष्टि भएका प्रयोगकर्ताका लागि टकब्याक सुविधा ल्याएको छ। दुई महिनाअघि सार्वजनिक गरिएको यो सुविधा ‘एक्सेसिबिलिटी’ फिचरमार्फत मोबाइल चलाउने प्रयोगकर्ताका लागि उपलब्ध गराइएको हो।

एक्सेसिबिलिटी फिचरको प्रयोग गरेर, मोबाइलमा फेसबुक मेसेन्जरलगायतका सामाजिक सञ्जाल चलाएजस्तै इसेवा पनि चलाउन सकिने भएको छ। यो फिचर हालसम्म प्रविधिको असुविधाका कारण डिजिटल भुक्तानी प्रणाली प्रयोग गर्न नपाएका प्रयोगकर्ताका लागि रहेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार, दृष्टिविहीनहरूले अरू कुनै व्यक्तिको सहयोगबिना स्वतन्त्र रूपमा इसेवा प्रयोग गर्न सक्ने सुविधा यसले दिएको छ।

यो सुविधा खासगरी मोबाइलमा ‘स्क्रिन रिडर’ वा ‘टकब्याक’ प्रयोग गर्ने प्रयोगकर्ताहरूका लागि डिजाइन गरिएको हो। यो फिचरमार्फत इसेवा एपभित्रका प्रत्येक मेनु, बटन र विकल्पलाई आवाजमा रूपान्तरण गरिन्छ। यसले गर्दा दृष्टिविहीन प्रयोगकर्ताले स्क्रिनमा के छ र आफूले कहाँ क्लिक गरिरहेको छु भन्ने कुरा सुनेर थाहा पाउन सक्छन्।

यो सुविधाले पैसा लोड गर्न, भुक्तानी गर्न, इसेवा खातामा भएको रकम कति छ भनेर जानकारी लिन, टपअप गर्न, टिकट खरिद गर्नेलगायतका सम्पूर्ण सेवा लिन सहज बनाएको छ। सामान्य प्रयोगकर्ताले लिन सक्ने सबै सुविधा दृष्टिविहीन प्रयोगकर्ताले पनि लिन सक्ने गरी इसेवामा टकब्याक सुविधा ल्याइएको बताइएको छ।

इसेवा सञ्चालनमा आएको १७औँ वार्षिकोत्सवको अवसरमा यो सुविधा ल्याइएको हो।

कसरी प्रयोग गर्ने?

एक्सेसिबिलिटी फिचर पहिल्यै इनेबल गरिएका डिभाइसमा भने इसेवा डाउनलोड गरेर सिधै चलाउन सकिन्छ। यदि अहिलेसम्म यो फिचर अन गर्नुभएको छैन भने यसरी गर्न सकिन्छ:

मोबाइलको सेटिङमा गएर सर्टकट एण्ड एक्सेसिबिलीटीमा क्लिक गर्नुहोस्। अब एक्सेसिबिलीटीमा क्लिक गर्नुहोस्।

अब टकब्याक देखिएको ठाउँमा क्लिक गर्नुहोस्।

एक्सेसिबिलिटी फिचर अन भइसकेपछि इसेवा एप खोल्दा एपले आफैँ स्क्रिनमा भएका सामग्रीहरू पढेर सुनाउन थाल्छ। प्रयोगकर्ताले स्क्रिनमा टच गर्दा कुन बटनमा छोइयो भन्ने आवाज आउँछ र डबल ट्याप गरेर उक्त सेवा छनोट गर्न सकिन्छ।