अब नागरिक एपबाटै ट्राफिक सचेतना कक्षा लिन सकिने भएको छ । ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकले अब नागरिक एपबाटै ट्राफिक सचेतना कक्षा लिन कस्ने छन् ।
आईतबार गृहमन्त्री रमेश लेखकले अनलाइन ट्राफिक सचेतना कक्षाको शुभारम्भ गरेका थिए । समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले ट्राफिक नियम उल्लङ्घन गर्दा भौतिक रूपले ट्राफिक कार्यालयमा पुगि सचेतना कार्यक्रम लिनुपर्ने अवस्था रहेकोमा प्रविधिको प्रयोग गरी नागरिक एपमार्फत अनलाइन ट्राफिक सचेतना कक्षा लिन सकिने व्यवस्था भएको र यो नेपाल प्रहरीमा प्रविधिको प्रयोगमा नयाँ आयम थप भएको बताए ।
कार्यक्रममा प्रहरी महानिरीक्षक दिपक थापाले नेपाल प्रहरीले दिने सेवाहरू प्रविधिमैत्री बनाउँदै लैजाने चरणको अर्को अध्याय स्वरूप नै यो अनलाइन ट्राफिक सचेतना कक्षाको शुरू गरिएको जानकारी दिए ।
प्रहरी महानिरीक्षक थापाले ट्राफिक व्यवस्थापनमा ट्राफिक प्रहरीले पछिल्लो समयमा अनुशरण गरेका प्रविधिहरूले सडक दुर्घटना रोकथाम र न्यूनीकरणमा प्रभावकारीता ल्याउनुका साथै कार्यक्षमतामा अभिवृद्धि र सेवा प्रवाहमा सुधार गरेको भन्दै प्रशंसा समेत गरेका थिए ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा मादक पदार्थ सेवन गरी सवारी चलाएको, तीव्र गति, लेनक्रस र रातोबत्ति क्रस गरी सवारी साधन चलाएको खण्डमा सम्बन्धि ट्राफिक कार्यालयमा उपस्थित भएर ट्राफिक सचेतना कक्षा लिनुपर्ने व्यवस्था छ ।
तर अब ट्राफिक सचेतना कक्षा लिन भौतिक रूपमा ट्राफिक कार्यालय जानुपर्ने छैन् । नागरिक एपबाट घरमै बसेर लिन सकिने छ । नागरिक एप तथा ज्ञान बजार प्रालिको सहयोगमा अनलाइन प्रणाली तयार पारिएको हो ।
कसरी लिने नागरिक एपबाट ट्राफिक सचेतना कक्षा ?
नागरिक एपबाट ट्राफिक कक्षा लिन सुरूमा एपमा खाता हुनुपर्छ । खाता नभए प्लेस्टोर वा एप स्टोरमा गएर नागरिक एप डाउनलोड गरी आवश्यक विवरण राखेर खाता बनाउनुहोस् । अनि ड्राइभिङ लाइसेन्समा क्लिक गर्नुहोस् र आफ्नो लाइसेन्स लिंक गर्नुहोस् ।
त्यसपछि त्यहाँ ‘violation records’ भन्ने अप्सन देखिने छ । त्यसमा क्लिक गरेर तोकिएको जरिवाना भुक्तानी गरिसकेपछि मात्रै अनलाइन सचेतना कक्षामा सहभागी हुन सकिने छ । भुक्तानी पनि अनलाइनबाटै गर्न सकिन्छ ।
भुक्तानी गरेपछि 'Take online Class' भन्ने अप्सन देखिने छ । त्यसमा क्लिक गर्नुहोस् र Join Now मा क्लिक गर्नुहोस् । अनि टर्म्स एण्ड कन्डिसन पढेर आफ्नो अनुहारको दुवै कान देखिने गरी फोटो खिचेर अपलोड गर्नुपर्ने हुन्छ । अब कक्षामा सहभागी हुन सकिने छ ।
अनलाइन कक्षामा १ मिनेटसम्म सेवाग्राहीको अनुहार नपाएमा वा क्यामेरा बन्द गरेमा पहिलो पटक चेतावनी दिइने छ । सोही घटना एउटै कक्षामा ३ पटकसम्म दोहोर्याएमा उक्त व्यक्तिको अनलाइन कक्षा रद्द गरिने छ ।
एक पटक निष्कासित भएपछि १२ घण्टापछि मात्र फेरि अनलाइन कक्षामा सहभागी हुन सकिने छ । दोस्रो पटक पनि निष्काशित भएपछि सम्बन्धि ट्राफिक कार्यालयमा गएर भौतिक कक्षा लिनुपर्नेछ । कक्षामा उत्तिर्ण हुनका लागि ६ वटा प्रश्न सोधिने छ र उत्तिर्ण हुन ३ वटा प्रश्नको सही जवाफ दिनुपर्नेछ । सही जवाफ नदिएमा सम्बन्धि ट्राफिक कार्यालयमा गएर भौतिक कक्षा लिनुपर्नेछ ।